Shittalpati
भोलिदेखि तेस्रो ‘तानसेन महोत्सव’ हुँदै

पाल्पा, पाल्पाको तानसेनमा भोली (विहीबार) देखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु हुँदै छ । तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ हुन लागेको हो ।

पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

तानसेन नगरपालिकाको मुख्य आयोजनामा लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सह–आयोजना, शर्मा निर्माण सेवा बगनासकाली –९ पाल्पाको व्यवस्थापनमा हुन लागेको महोत्सवको तयारी चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

महोत्सव सञ्चालनको लागि विद्युतीय बोलपत्र टेण्डर प्रक्रियाबाट छनोट गरी मूल्य अभिवृद्धि करबाहेक ८६ लाखमा ठेक्का लागेको हो । जिल्लामै पहिलो पटक जलपरी, औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगायतका अवसर सिर्जना र आकर्षण गर्ने तथा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र साना उद्यमी एवम व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु रहेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ । महोत्सवमा कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी साथै पाल्पाली ढाका, करुवा, कृषि तथा पशुजन्य, लगायत स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने, स्थानीय भाषा, कलासंस्कृत, धार्मिक मूल्य र मान्यताहरुको संरक्षण तथा स्थानीय प्रविधिलाई प्रोत्साहन र बाह्य प्रविधिको पहिचान गर्ने किसिमका क्रियाकलापहरु पनि राखिएको नगरपालिकाले जनाएको छ । कृषि तथा पशुपंछी, प्रतियोगितात्मक कार्यक्रम, स्थानीय उत्पादन, पाल्पाली ढाका, पाल्पाली करुवा, माटाका भाँडा, काठका ठेकाठेकी जस्ता कला तथा संस्कृतिको प्रदर्शनी समेत महोत्सवमा हुने छ ।

महोत्सवमा विभिन्न उत्पादनका तीन सय भन्दा बढी स्टलहरु रहेका छन् ।  जहाँ पाँच लाख बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामाग्री प्रदर्शनी, बैंक तथा वित्तिय संस्था, सूचना प्रविधि, अटो मोबाईल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनीहरुका स्टल रहने छन् ।  माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आठ करोड बराबरको कारोबार हुने अनुमान  गरिएको छ । महोत्वस स्थलमा प्रवेश गर्नका लागि ७५ रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगर प्रवक्ता यादवसिंह कार्कीले शितलपाटीलाई  जानकारी दिए ।  विगतमा पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दै आएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update