Shittalpati
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो

गुल्मी,जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

मंगबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको कार्यकक्षमा बसेको सरोकारवालाहरुको छलफलमा जिल्लामा सञ्चालित विकास निर्माणका कार्यप्रति चासो व्यक्त गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सचितानन्द चौधरी लगायतले विकास निर्माणका सम्पूर्ण कामले गति लिनुुपर्नेमा जोड दिए ।

छलफलमा नगरप्रमुख पन्थीले जिल्लामा सञ्चालन भएका विकासका पूर्वाधारहरुको दीगो र गुणस्तरीयता कायम गरी समयमै काम सम्पन्न गर्नुपर्ने बताए । अधिकांश योजनाहरु समयमै सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीप्रति लक्षित गर्दै नगर प्रमुख पन्थीले विकास सबैको साझा लक्ष्य रहेको बताए । कुनै पनि विकास निर्माण कार्य सम्पन्न गर्न ढिला नगरी लाग्नुपर्नेमा उनले जोड दिए । निर्माण व्यवसायी र सम्बन्धित निकायको वेवास्ताका कारण जिल्लामा सञ्चालित विकास निर्माणका योजनाहरुले गति लिन नसकेको आम नागरिकको गुनासो छ । रेसुुङ्गा नगर सरकारले स्थानीय सरकारको क्षेत्र अधिकार भित्र रहेका विकास निर्माण र योजनाहरुमा तदारुकताका साथ काम गर्दै आएको नगर प्रमुख पन्थीले बताए । यदि कोही कतै काममा ढिलाई भएको थाहा पाएमा तत्काल नगर सरकारले कारवाही गर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update