Shittalpati
पाल्पामा आइपुगे निर्वाचन सामग्री, मतदान केन्द्र पठाउने तयारी

कृष्ण पोखरेल
पाल्पा, आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाका लागि आवश्यक निर्वाचन सामग्री जिल्ला आइपुगेको छ । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रत्यक्ष तर्फको मतपत्र बाहेक सबै किसिमका निर्वाचन सामग्रीहरु आइपुगेको हो ।
निर्वाचन सामग्री मतदान केन्द्र पठाउने तयारी भइरहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । निर्वाचनका लागि चाहिने आवश्यक सामग्री आइपुगेको र सबै सामग्री चेकजाँच गरेर प्याकिङको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुकमागत अर्यालले बताए । उनका अनुसार पाल्पाको मतदानको लागि चाहिने आवश्यक ५६ प्रकारका समग्रीहरुको रुजु गरी प्याकिङको काम भइरहेको छ । प्रमुख अर्यालले भने ‘यहाँ १ सय १८ मतदानस्थलको २ सय ४६ वटा मतदान केन्द्रका लागि निर्वाचन सामग्रीहरु पठाउन तयारी गरिहेका छौं ।’ मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र, छेकवार, स्वस्तिक छाप, मसिदानी, मतदाता नामावलीको सूची, धागो, सियो, मार्कर पेन, ल्याहछाप, रसी, नमुनामतपत्र, मतदाता शिक्षा, विभिन्न थरीका औषधी, सेनेटरी प्याड, मुचुल्का कागजातहरु सहित ५६ प्रकारका निर्वाचन सामग्रीहरु जिल्लामा आइपुगेको उनले बताए । २ लाख १ हजार ३ सय २६ मतदाताका लागि आवश्यक प्रत्यक्ष तर्फको मतपत्र भने अझै आएको छैन । कार्यालयमा आएको सम्पूर्ण सरसमानहरु २ सय ४६ वटा मतदान केन्द्रको लागि छुट्टा–छुट्टै पोका बनाएर मुख्य निर्वाचन कार्यालयमा पठाउने काम भएको कार्यालयका लेखा प्रमुख विनोद घिमिरेले बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाले भने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यबस्थापन तथा खटन पटनलाई चुस्त दुस्त बनाएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतले मतदान स्थलको सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरी सोही अनुसारको खटन पटन देखी सुरक्षाको भित्री बाहिरी घेरा बनाएको छ । यहाँ २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल रहेका छन् । यस्तै ५० वटालाई संवेदनशील र ३९ वटालाई सामान्यमा राखिएको छ । यहाँ १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् ।
उता सबै उम्मेदवार जितको लागि आ–आफ्नो घोषणपत्र तथा प्रतिवद्धतापत्र लिएर जनताको घरदैलोमा पुगेका छन् । निर्वाचन गराउने निकाय निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय आ–आफ्नै अन्तिम तयारीमा जुटिरहेका बेला उम्मेदवारहरु भने मतदाताहरुलाई आ–आफ्नो पक्षमा मत हाल्न कसर गरिहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update