Shittalpati
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार

रामचन्द्र रायमाझी
पाल्पा, संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक बाध्यता भएकाले पनि स्थानीय तहहरु त्यसको तयारीमा दिन रात खटेका छन् । स्थानीय तहले १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् ।

त्यसै अनुसार पाल्पाका नव निर्वाचित जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा खटिएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलनमा व्यस्त छन् । उनीहरुले जिल्लाका पत्रकार, राजनीतिक दल, सरोकारवालाहरुसँग सुझाव मागेका छन् । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । पत्रकारहरुले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षमा केन्द्रीत रहेर आगामी नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् । उनीहरुले पालिकामा बसाइसराई चुनौतीको रुपमा देखा परेको भन्दै त्यसलाई रोक्न गुणस्तरी शिक्षा, रोजगार र सर्वशुलभ स्वास्थ्यको व्यवस्था गर्न पालिकालाई सुझाव दिएका छन् । पत्रकारहरुले परम्परागत कृषिलाई व्यवसायिक बनाई पालिकावासीको जीवनस्तर उकास्ने, विपन्न र गरिब वर्गहरुका लागि विपन्न उद्यान कार्यक्रम ल्याउनुपर्ने, पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी आय स्रोत बढाउनुपर्ने, सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र पादर्शी बनाउनुपर्ने, कृषि बजारीकरको व्यवस्था मिलाउनु पर्ने, स्थानीय रक्सीलाई ब्राण्डि· गरिनुपर्ने, मिडिया सवलीकरण कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले महँगीका कारण प्रभावित बनेका नागरिकहरुका लागि आयआर्जन र सिपमूलक कार्यक्रम, ओझेलमा परेका पर्यटकीय तथा धार्मिक स्थलहरुको संरक्षण गर्ने जस्ता कार्यक्रम ल्याउनुपर्ने बताए । पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले दलित, बोटे, अल्पसंख्याक समुदायका नागरिकहरुको जीवनस्तर उकास्न आर्यआर्जनका कार्यक्रम ल्याउन गाउँ सरकारलाई सुझाव दिए । उनले कुमाल समुदायले बनाउने माटोका भाडा, बगनासे साँचोको प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले राजश्व संकलनमा ध्यान दिन गाउँ सरकारलाई आग्रह गरे । उनले बगसकालीका केही वडाहरु कालिगण्डकी बाट प्रभावित क्षेत्र भएकाले विश्व बैंकको सम्झौता अनुसार ति क्षेत्रलाई केही प्रतिशत रकम उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकाले त्यसतर्फ पालिकाले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सीना, बगनासकाली पत्रकार समूहका अध्यक्ष दीपक ढुङ्गाना, पत्रकारहरु कृष्ण पोखरेल, किरण कौशल, कृष्ण कार्की, भोजराज भट्टराई, रामचन्द्र रायमाझी, भोजराज तिमिल्सेना, विष्णु घिमिरे, विजय बौडेल, नेत्र गैरे लगाएतले पालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि विशेष ध्यान दिन सुझाव दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पत्रकारहरुको सुझावलाई नीति, कार्यक्रममार्फत बजेटमा समावेश गर्ने बताइन् । उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा के कस्ता विषय बस्तुहरुलाई समेट्दा राम्रो हुन्छ भनि सबै क्षेत्रका व्यक्तिहरुबाट सुझाव संकलन गर्ने कार्य गरिएको बताईन् । उनले भनिन्, ‘ति सुझावका आधारमा नीति, कार्यक्रम र बजेट निर्माण गरी पालिकाको आर्थिक, सामाजिक विकास गरी देशकै नमूना पालिका बनाउने दिशामा हामी अगाडि बढेका छौं ।’ पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको विकासमा फरक पन ल्याई जनतालाई फरक अनूभूति दिने गरी यस पटकको नीति ,कार्यक्रम र बजेट ल्याउन लागिएको बताए । उनले पालिकालाई भ्रष्टचार, अनियमितामुक्त पालिका बनाउने समेत बताए । गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले पालिकालाई सूचनामैत्री बनाउने बताए । उनले पालिकाका हरेक सूचनाहरु मागेको खण्डमा आफुले सहज रुपमा उपलब्ध गराउने समेत बताए । कार्यक्रम पालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update