Shittalpati
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द !

पाल्पा । तानसेनमा जनप्रतिनिधिलाई समेत कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका दुई जना सहित तानसेनका चार जना जनप्रतिनिधिमा कोरोना देखिएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगर सरकारले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । विहिबार बसेको नगर सरकारको बैंठकले नगरपालिकाका जनप्रतिनिधि सहित समुदायमा संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय, कार्यालय मातहत र वडा कार्यालयहरुका शुक्रबारदेखि असोज ५ गतेसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको हो ।

तानसेन नगरपालिकाका वडाअध्यक्ष र तीन जना वडासदस्यहरुमा कोभिड १९ पोजेटिभ देखिए पछि नगरकार्यपालिकाको वैठकले तानसेन प्रवेश गर्ने जो कोहीलाई पनि पिसिआर रिपोर्ट देखाएर मात्र नगरप्रवेशमा अनुमति दिने किसिमको व्यवस्थाका लागि पाल्पाको सिसिएमसी समक्ष अनुरोध गर्ने, नगर भित्रका सबै अस्पताल र स्वास्थ्यसेवी संस्थाहरुको नियमित अनुगमन र निरीक्षण गर्न माग गर्ने भएको छ ।

। हाल रोगले भन्दा भोकले मानिसहरु पिडित भएकाले बजार बन्द गर्ने र तानसेनका नाकाशील गर्ने अवस्था तत्कालै गर्दा आम सर्वसाधारणमा झन जटिल समस्या पर्ने भएका कारण व्यवसायी तथा सरकारी कार्यालयहरुले दैनिक कार्यसम्पादन गर्दा सेवाग्राही र कर्मचारी समेतको स्वास्थ्य सुरक्षाको राम्रो प्रवन्ध गरेर कार्यसम्पादन गर्ने विषयमा पनि व्यापक छलफल भएको तानसेन नगरप्रमुख अशोक कुमार शाहीले शित्तलपार्टी डटकम संगको कुराकानीमा स्पष्ट पारे । नगर प्रमुख शाहीले भने ‘कोभिड-१९ पोजेटिभ देखिएका वडा १२ का वडाअध्यक्ष र वडा १० का सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरु सबैलाई घरमै सर्तकता साथ रहन र स्वास्थ्यमा थप समस्या भएमा जानकारी दिन आग्रह गरिएको छ ।’ नगरप्रमुख शाहीका अनुसार संक्रमित चारै जना जनप्रतिनिधीको स्वास्थ्य अवस्था सामान्य र उनीहरुमा कुनै पनि लक्षण देखिएको छैन । नगरकार्य पालिकाको बैठकले कार्यपालिका सदस्य समेतका संक्रमित जनप्रतिनिधिहरु मंगलवार भएको कार्यपालिकाको बैठकमा सहभागी भएको हुँदा नगरकार्यपालिकाका सबै पदाधिकारी, नगरपालिकाका कर्मचारी र सबै शाखा प्रमुखहरुको जति सक्दो छिटो स्वावपरीक्षण गर्ने तयारी भएको छ । परीक्षण र स्वावको रिपोर्ट नआएसम्मका लागि शिलै नभने पनि अत्यावश्यक बाहेकका सबै सेवा हाललाई बन्द गरिएको पनि नगरप्रमुख शाहीले जानकारी दिए ।

बिहीबार तानसेनको वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित थपिएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update