Shittalpati
पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क

पाल्पा । कोरोना भाईरस(कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरिएको छ । रिपोर्टिङका लागि फिल्डमा खटिने पत्रकारको सुरक्षाका लागि पत्रकार महासंघ जिल्ला शाखाले एक कार्यक्रमका बिच बुधबार ज्याकेट र मास्क वितरण गरेको हो । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा शाखाले ५० थान प्रेस ज्याकेट र मास्क वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ को जोखिम पाल्पामा समेत देखिएकाले नागरिकलाई सुचना प्रवाह गर्न आफ्नो ज्यानलाई जोखिम मोलेर फिल्डमा रिपोर्टिङको लागि खटिएका पत्रकारहरुलाई प्रेस ज्याकेट र माक्स वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले बताए । महासंघमा आवद्ध ९५ जना सदस्यहरु मध्ये पहिलो चरणमा फिल्डमा खटिने पत्रकारका लागि वितरण गरिएको र पछि अन्य सदस्यहरुलाई समेत वितरण गरिने अध्यक्ष अर्यालले जानकारी गराए । उनले पत्रकारहरुलाई ज्याकेट वितरण गर्दै विषम परिस्थीतिमा पनि पत्रकारले जनतालाई सु–सुचित गराउने काममा सक्रिय भूमिका खेलेको बताए । अध्यक्ष अर्यालले अगामी दिनहरुमा पत्रकारहरुले अझ स्वतन्त्र र निष्पक्ष ढङ्गले स्थानीय तहमा भएका अनियमिता र भष्ट्रचारका विषयमा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिए । महासंघका सल्लाहकार गोविन्द भट्टराईले पत्रकारहरु एकले अर्काको आलोचना गर्नु भन्दा पनि पत्रकारिताको सिद्धान्त र मर्मलाई आत्मसात गर्दै समाज परिवर्तनको दिशामा अगाडि बढ्नुपर्ने बताए । महासंघका उपाध्यक्ष भरत शर्माले कोरोना संक्रमणका विरुद्ध पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटिएको र उनीहरुको परिचय झल्काउनका लागि ज्याकेटले महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रम महासंघका अध्यक्ष अर्यालको अध्यक्षता, सचिव किरण कौशलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update