Shittalpati
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । “स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो“ भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा पौष १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

विभिन्न विधामा सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगितामा समूह दर्ता शुल्क २ हजार रुपैयाँ मात्र तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष ग्रेड बी, पुरुष ग्रेड सी, खुल्ला पुरुष भेट्रान र खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगिता सञ्चालन हुने नेपाल ब्याडमिन्टन संघ गुल्मीका उपाध्यक्ष ज्ञानबहादुर भलामीले जानकारी दिए । खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय पुरस्कार नगद २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । त्यस्तै तृतीय पुरस्कार १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तोकिएको छ । त्यस्तै पुरुष ग्रेड बी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीले जनाएको छ । त्यस्तै पुरुष ग्रेड सी प्रतियोगिता तर्फ प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्याडमिन्टन संघले जनाएको छ । त्यस्तै खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमशः २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसमा ४५ वर्ष माथिका पुरुष पुरुष सहभागी हुन पाउने छन् ।

त्यस्तै खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीका अर्का उपाध्यक्ष मनोज काउछाले जानकारी दिए । यसमा ५५ वर्ष माथिका पुरुष सहभागी हुन पाउने छन् । यसैगरी ब्याडमिन्टन प्रतियोगितामा विभिन्न नियमहरु राखिएको छ । जसमा ब्याडमिन्टन प्रतियोगिता नेपाल ब्याडमिन्टन संघको नियम अनुसार हुने संघका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतियोगितामा खेल अवधिभर रेफ्रिको निर्णय अन्तिम निर्णय हुनुका साथै कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम निर्णय हुने सचिव श्रेष्ठले बताए । सेमिफाइनलमा प्रवेश गरेपछि खेलाडीको पोशाक एकै प्रकारको हुनुपर्नेछ । त्यस्तै आयोजकले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिहानको खाना र खाजाको व्यवस्था गरेको नेपाल ब्याडमिन्टन संघ गुल्मीका निर्वतमान अध्यक्ष महेश काउछाले जानकारी दिए ।

पौष १५ गते साँझ ५ बजेसम्म समुह दर्ता गर्न मिल्ने यस प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सञ्चालन हुने छ । प्रतियोगितामा ६ देखि ७ लाखसम्म खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक राजु पाण्डेले जानकारी दिए । अहिलेसम्म ८० प्रतिशत बराबर रकम अभियानद्वारा संकलन भइसकेको छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष मनोज काउछाले नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको खेलले आफूलाई खुसी लागेको भन्दै आगामी दिनमा पनि खेलकुद विकास समितिको तर्फबाट विभिन्न खेलहरु आयोजना हुने बताए । ब्याडमिन्टन प्रतियोगिताको जानकारीको लागि आयोजना गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिक, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पुर्वअध्यक्ष जर्नादन घिमिरे, पूर्वसचिव तारा भुसाल लगायतका थुप्रै पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update