Shittalpati
खेलकुद पत्रकार अर्याल पुरस्कृत

पाल्पा, युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाल्पाका खेलकुद पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर पत्रकार अर्याललाई आइतबार पुरस्कार प्रदान गरेको हो । अर्यालले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् ।

खेलकुद पत्रकारिताको माध्यमबाट जिल्लाको खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप मन्त्रालयले अर्याललाई पुरस्कृत गरेको हो । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल समेत रहेका अर्याल कान्तिपुर दैनिकका उपसम्पादक, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका संस्थापक समेत हुन् । उनले खेलकुद पत्रकार मञ्चबाट उत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, वातावरण मन्त्रालयबाट प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार, विश्व वन्यजन्तु कोषबाट वातावरण संरक्षण पत्रकारिता पुरस्कार, जागरण राष्ट्रिय पुरस्कार, शिक्षा पत्रकार समूहका साथै नेपाल पत्रकार महासंघ पाल्पाबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

त्यस्तै मन्त्रालयले नेपालगञ्जका खेलकूद पत्रकार कमल खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । खत्रीले नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् । यस्तै विभिन्न सञ्चार माध्यमबाट खेलकुद पत्रकारिता गर्दै आएका अन्य सात जना पत्रकारलाई पनि मन्त्रालयले प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । झापाका हिमालचन्द्र खरेल,महोत्तरीका रञ्जनकुमार भण्डारी, काठमाडौका अनिल मल्ल ठकुरी, दाङका मुक्तिबाबु रेग्मी, जुम्लाका भुपेश उपाध्याय, डोटीका सीताराम ओझालाई समेत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । यस्तै मन्त्रालयले महिलातर्फ राष्ट्रिय समाचार समिति ९रासस० की मुना कार्कीलाई प्रदान गरेको छ । मन्त्रालयले प्रदान गरेको प्रोत्साहन पुरस्कार नगद २५ हजार रुपैयाँ रहेको छ । सम्मान हुने सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाको आधारमा आवेदन दिएका मध्येबाट सिफारिस समितिले गरेको सिफारिसको आधारमा पुरस्कार प्रदान गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update