Shittalpati
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको तानसेनलाई नेपालको दार्जिलिङ्गका रुपमा चिनिन्छ । यहाँ थुपैं ऐतिहासिक पर्यटकीय, धार्मिक तथा पुरातात्विक सम्पदाहरु रहेका छन् । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाई तानसेन बन्ने गर्दछ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी साना, ठूला लगानीका थुप्रै होटलहरु सञ्चालनमा छन्, भने केही खुल्ने क्रममा छन् । यही होटलहरुको भिडमा तानसेन नगरपालिका–७ बागवानीस्थिति तम्घास–पाल्पा सडक खण्डको छेउमा सुविधा सम्पन्न ‘ह्वाइट हाउस ग्रीनफिल्ड रिसोर्ट सञ्चालनमा आएको छ । तीन दशक लामो पत्रकारिता क्षेत्रमा लागेका जीवलाल सुवेदीले ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उनले तानसेन आउने जुनसुकै स्तरका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी रिसोर्ट खोलेका छन् ।

रिसोर्टमा अत्याधुनिक भवन निर्माण गरिएको छ भने रिसोर्ट वरपर उत्कृष्ट साजसज्जा गरिएको छ । त्यसैगरी टिकटक सेन्टर, रिसोर्ट वरपर हरियाली समेत निर्माण गरिएको छ । १४ वटा कोठा भएको दैनिक ५० जना बास बस्न सक्ने रिसोर्टमा विभिन्न खानाका परिकार, सुविधायुक्त कोठा, तातोपानी, इन्टरनेट लगायत सुविधा रहेको रिसोर्ट सञ्चालक सुवेदीले बताए । तानसेनमा होटल भएर पनि आकर्षक दृश्य र मनोरञ्जनका लागि उचित स्थानको अभाव हुँदा त्यसको परिपूर्तिका लागि रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । सुवेदीले लामो समय तानसेन भगवतीटोलमा मनिका गेष्टहाउस समेत सञ्चालन गरेका थिए । उनले होटलबाट मात्र सम्पूर्ण ग्राहकहरुको चाहाना पुरा गर्न नसकिने भएकाले ग्राहकहरुको चाहाना र आवश्यकतालाई रिसोर्टबाट पुरा गरिने बताए । सुवेदीले भने ‘अहिले रिसोर्टको अझ केही भौतिक संरचना निर्माण हुन बाँकी छ, हामी ग्राहकको चाहाना र आवश्यकता अनुसार रिसोर्ट सञ्चालन गरेका छौं ।’ ‘पाहुनालाई सुविधा र समुदायलाई आयआर्जनको अवसर दिने लक्ष्य हो’, सञ्चालक सुवेदीले भने । १५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले थप अर्गानिक कृषि समेत गरेको छ ।

रिसोर्टमा परिवारसहित ६ जनाले रोजगारी पाएका छन् । अर्गानिक तरकारी, कुरिलोको रस, लोकल कुखुरा, हाँस, खसीको मासु, कोदो, फापरको ढिँडो, सिमीको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुक लगायत परिकारलाई प्राथमिकता दिइएको सञ्चालक सुवेदीले बताए । तानसेनसँगै तम्घास–सडक खण्डको मुख्य राजमार्ग हुँदै गुल्मी, बागलुङ्ग, अर्घाखाँची जाने पर्यटकहरुका लागि ह्वाइट हाउस पहिलो रोजाई बन्न सक्ने उनले विश्वास व्यक्त गरे । तानसेनमा थुप्रै ऐतिहासिक पर्यटकीय तथा धार्मिक स्थलहरु रहेकाले तिनीहरुको अवलोकन गर्न आउने पर्यटकहरुले आनन्द र रमणीय खोज्ने भएकाले पनि ‘ह्वाइट हाउस सबैको रोजाई बन्न सक्ने छ । तानसेनमा अमरसिंह थापाले निर्माण गरेको अमरनारायण कलात्मक मन्दिर, उजिरसिंह थापाले निर्माण गरेको रणउजिरेश्वरी भगवती मन्दिर, खडग शमशेरद्वारा निर्माण र प्रताप शमशेरद्वारा पुननिर्माण गरिएको पाल्पा दरवार, मुलढोका, विजयस्तम्भ, शित्तलपाटी, अण्डाकार टुँडिखेल मैदान, पश्चिमी शैलीमा निर्माण भएको त्रिभुवन बहुमुखी क्याम्पसको प्रशासकिय भवन, विरेन्द्रपार्क, ढुंगा छापिएका सडक र गल्ली, पाल्पाली ढाका, करुवा उद्योग, श्रीनगरडाँडा, पारीलेक वन आदि यहाँका दर्शनीय स्थल एवं महत्वपूर्ण संरचनाहरु छन् । त्यति मात्र होइन तानसेनबाट १६ किमी उत्तरमा कालीगण्डकी नदीको किनारमा खड्ग शमशेरद्वारा रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गरेको रानीघाट दरवार, पाल्पा कालभैरव मन्दिर र उक्त मन्दिरमा रहेको एशिया कै सबै भन्दा ठूलो पित्तलको त्रिशुल, पूर्वमा रम्भा देवी मन्दिर, दक्षिणमा प्रभास ताल र कोलडाँडाको सत्यवती ताल पनि यहाँका ऐतिहासिक स्थलहरु हुन् ।
अर्गानीक कृषि पनि
सुवेदीले रिसोर्ट नजिकै फैलिएको ८ रोपनी क्षेत्रफलमा अर्गानी कृषि व्यवसायी पनि गरेका छन् । रिसोर्टमा आउने पाहुनाहरुलाई अर्गानिक तरकारी र फलफूल खुवाउने उद्देश्यले उनले केरा, मेवा, कुरिलो, खुर्सानीको खेती समेत गरेका छन् । बाँझो रहेको जमिनलाई सुवेदीले हराभरा बनाउनुको साथै कृषि र रिसोर्ट व्यवसायीमा परिणत गरेका छन् । यहाँको १५ रोपनी जग्गा लिजमा लिई उनले रिसोर्ट र कृषि व्यसायी गरेका हुन् । यहाँ ५ सय विरुवा केरा, ५ सय विरुवा मेवा, ५ सय विरुवा कुरिलो र सुर्खासी लगाइएको छ । उनको कृषि व्यवसायी हेर्न पुग्ने जो कोही लालायित हुने गर्दछन् । सुवेदीले आफ्नो घर तिनाउको मस्यामा पनि टिमुर खेती गरेका छन् । व्यसायसँगै सामाजिक सेवामा लागेका सुवेदीलाई श्रीमति सरु सुवेदी र उनका छोरीहरुले साथ दिएका छन् । सुवेदी होटल व्यवसायी संघ पाल्पाका वरिष्ठ उपाध्यक्ष समेत हुन् । उनले समाजमा रहेका विकृति विसंगतीको अन्त्य गर्ने र वावतारण स्वच्छ, सफा राख्नुपर्छ भन्ने उद्देश्यले कुँचो अभियान समेत चलाउँदै आएका छन् । सुवेदीले मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update