Shittalpati
उपचारको नाममा र्‍याल काढ्ने प्रदेश सांसदहरू

रामचन्द्र रायमाझी
पाल्पा, नेकपा एमालेका प्रदेश सांसद डा.पुरनमान बज्राचार्य सहितका धेरै जसो लुम्बिनी प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । प्रदेश सांसद ब्रजाचार्य सपन्नशाली र स्वयं चिकित्सक भएपनि उपचार खर्चबापत दुई लाख २० हजार १ सय ७६ रुपैयाँ भुक्तानी लिएका छन् । प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार उनले गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम लिएका हुन् ।

पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालय मार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि उपचार भन्दै भुक्तानी लिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २८ जना सांसदले १४ लाख ४९ हजार ५ सय ३० रुपैयाँ लिएको उपचार खर्च त्यसयताका वर्षहरूमा निरन्तर बढिरहेको छ । पाल्पाकै जनता समाजवादीकी सांसद पुर्मती ढेंगाले पनि औषधि खर्च वापत ३७ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी लिएकी छन् । मन्त्री समेत रहेकी ढेंगाले आर्थिक वर्ष २०७६/०७७ मा १३ हजार २ सय ८५ र आर्थिक वर्ष २०७७/०७८ मा २४ हजार ६ सय ४६ रकम बुझेकी छन् ।

पाल्पाका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले भने उपचारका लागि कुनै रकम लिएका छैनन् । जबकी उनी गत दुई वर्ष अघि काठमाडौंबाट बुटवलतर्फ आउँदै गर्दा सडक दुर्घटनामा परी घाइते हुँदा समेत उनले कुनै पनि राज्यकोषको प्रयोग भने गरेनन् । प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया चिनी उद्योगका मालिक हुन् । उनले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार १ सय ५७ र २०७८/७९ मा २ लाख २७ हजार ८ सय ५१ गरी दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपैयाँ उपचार खर्च लिएका छन् । जसपाबाट पूर्वमन्त्री समेत भएकी कल्पना पाण्डेयले २ लाख ७५ हजार २ सय ७ रुपैयाँ भुक्तानी लिएकी छन् । प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७०, सांसद निर्मला क्षेत्रीले २ लाख ७३ हजार ८ सय ९७, माला गोतामेले २ लाख १४ हजार ६ सय ८७ र मोहम्मद याकुब अन्सारीले २ लाख १६ हजार ९ सय ५९ रुपैयाँ भुक्तानी लिएका छन् । डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार १ सय ५ र सरस्वती गौतमले २ लाख २० हजार २ सय ३१ रुपैयाँ भुक्तानी लिएका छन् । सांसद ढेंगा बाहेक माथि उल्लेख गरिएका सांसदहरुले दुई लाख भन्दा बढी उपचार खर्च वापतको रकम लिनेमा पर्दछन् ।सरकारले निःशुल्क गर्ने भनेका औषधि समेत गरिब वर्गका बिरामीले पाउन सकेका छैनन् । तर लुम्बिनी प्रदेशका यि  सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन् । औषधि बापतको खर्च लिन पाइने भएपछि सांसदहरुले उक्त रकमको लोभ गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update