Shittalpati
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने

पाल्पा, आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिको शुक्रबार भएको साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आउने बताएको हो । २०७७ फागुन १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका थिए । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने छ ।

केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय बिच सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत भइसकेको छ । बुटवलमै चन्द्रागिरी हिल्स केबुलकार प्रालिसँगको साझेदारीमा लुम्बिनी केबलकार प्रालिले केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । तीन अर्ब ५२ करोडको अनुमानित लागतमा उक्त केबलकार सञ्चालनमा आउने छ । रुपन्देही आउने आन्तरिक एवं बाÞय पर्यटकहरु सजिलै बसन्तपुरसम्म पुग्नेछन् । यहाँ गर्मी छल्न र वनभोज खान जाने आन्तरिक पर्यटकको संख्या बढेपछि पर्यटनको सम्भावना देखेर यस क्षेत्रका व्यवसायीहरुले केबलकारमा लगानी गरेका हुन् । केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ ।

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरेको थियो । रुपन्देही र पाल्पा जिल्ला अन्तर्गत उक्त क्षेत्रमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update