Shittalpati
बाल ज्योति प्राविमा वृक्षारोपण

पाल्पा, जिल्लाको तानसेन नगरपालिका ७ काजीपौवामा रहेको बाल ज्योति प्राविमा वृक्षारोपण गरिएको छ । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि विद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु रोपण गरिएको हो । शुक्रबार शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले बैलौती, सुगन्ध कपुर, दाल चिनी सहित विभिन्न फलफूलका ५० वटा विरुवाहरु रोपेका थिए ।

पछिल्लो समय मानव विकाससँगै बोटविरुवाहरुको विनास हुँदै गएकाले त्यसको सरंक्षण र प्रवद्र्धनका लागि सबै नागरिकमा दायित्वबोध गर्न विद्यालयस्तरबाटै वृक्षारोपण गर्ने बानिको विकास गर्न विद्यार्थीहरुको सहभागितामा वृक्षारोपण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीरजंग रायमाझीले बताए । उनले भने ‘विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिकता सिकाउनु अहिलेको आवश्यकता हो ।’ वृक्षारोपण गर्न र त्यसको आवश्यकताको विषयमा विद्यार्थीहरुमा ज्ञानसिप हासिल गर्न अतिरिक्त क्रियाकलाप अन्तर्गत वृक्षारोपण गराइएको अध्यक्ष रायमाझीले एनजेडीलाई बताए । उनले सरकारले ल्याएको हरित विद्यालय कार्यक्रम कार्यान्वयन गर्नका लागि समेत वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयले हरेक हप्ता विद्यार्थीहरुलाई अतिरिक्त कार्यक्रम मार्फत वृक्षारोपण जस्तै अन्य रचनात्मक गतिविधिहरुमा समेत संलग्न गराउँदै आएको विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापाले बताए । सरकारले पनि ‘एक विद्यालय : एक बगैँचा’ अभियान यस अघिदेखि नै सञ्चालन गर्दै आएको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यस सम्बन्धी निर्देशिका जारी गरिसकेको छ । ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५’ स्थानीय तह र विद्यालयहरुमा पठाउन थालिएको छ । शिक्षा नियमावली, २०५९ को १९२ को अधिकारअनुसार जारी निर्देशिकामा एक विद्यालय एक बगैँचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यलाई प्रभावकारी रुपले अगाडि बढाउन सो नीति लिइएको थियो । बृहत् हरित क्षेत्र अन्तर्गत विद्यालयको परिसर वा सेवा क्षेत्रभित्र रहेको खाली जग्गा वा सार्वजनिक वा बुट्यान क्षेत्रभित्र विद्यालय र समुदायको प्रयासमा वृक्षारोपण हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update