Shittalpati
माओवादी नेताको दुर्घटनामा मृत्यु

रुपन्देही, सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टंकमणि) को ५५ वर्षको उमेरमा निधन भएको छ । दाङबाट बुटवल फर्कँदै गर्दा मंगलबारराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।

दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उनी दुर्घटनामा परेका हुन् । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लागेका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिएका छन् । नेता बञ्जाडेको बुधबार नै तिलोत्तमास्थित मगरघाटमा संस्कार गरिएको छ । अर्घाखाँची धारापानीमा जन्मिएका बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् । –रासस

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update