Shittalpati
यात्रुसँग बढी भाडा लिने आठ जना पक्राउ

काठमाडौँ, तोकिएको भन्दा बढी भाडा लिनेलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।
काठमाडौंबाट बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारवाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंबाट बा १६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए । यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update