Shittalpati
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा

पाल्पा (माथागढी), गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ  । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको छ । पोषणयुक्त खानेकुरा वितरण कार्यक्रममा वडा सदस्य अनिता दर्जीले गर्भवती महिला र बालबालिकाहरुको स्वस्थ्य अवस्थालाई आवश्यक पर्ने पोषिलो खाने कुरा वितरण गरेकोमा सामाजिक श्रोत विकास केन्द्र नेपाल र सुहारालाई विशेष धन्यवाद दिइन् । उनले यि दुवै संस्थाले वडा भित्र रहेका महिला तथा बालबालिकाहरुलाई सहयोग गरेको तथा चेतनामूलक कार्यक्रममा सधै सहकार्य गर्दै अगाडि बढेको बताइन् ।

सदस्य दर्जीले आगामी दिनमा पनि सहयोग गर्न संस्थाहरुलाई आग्रह गरिन् । कार्यक्रममा गर्भवती महिलाले पौष्टिक तत्वयुक्त खानेकुरा खानु पर्छ भन्ने उद्देश्यले विगतमा अण्डा वितरण गर्दै आएको उनले बताईन् । अण्डा एक क्यारेट दिएपछि ३० दिनमा सकिने तर लोकल कुखुरा भने लामो समयसम्म अण्डा पारिरहने हुदाँ अहिले सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाबाट २७ जना गर्भवती महिलाहरुलाई एक/एक वटा लोकल कुखुराको पोथी वितरण गरिएको कार्यक्रम सहजकर्ता मोती रानाले बताए । कार्यक्रमका अवसरमा सुआहारा पाल्पाबाट पनि कसेनी वडा भित्र भएका ६ महिना ,१२ महिना र २४ महिना उमेरका २४ जना बालबालिकाहरुलाई पोसिलो खाना वितरण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update