Shittalpati
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी

रामचन्द्र रायमाझी
पाल्पा । अवैध रुपमा सालको काठ ओसार –पसार गरेको अभियोगमा जिल्ला वन कार्यालयले थप दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालयले सवारी धनी धन बहादुर घर्ती र काठ धनी राम प्रसाद सुनार (अशोक विश्वकर्मा) लाई पक्राउ पुर्जी जारी गरेको हो । गत बुधबार प्रहरी चौकी ताहुँबाट गएको प्रहरी गस्तीको टोलीले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबासतर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको थियो । वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार सवारी चालक टंक बहादुर दमाईको बयानको आधारमा सवारी धनी र काठ धनीलाई पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा ट्याक्टरबाट ३९.४२ क्यूफिटको २४ थान अबैध सालको काठ बरामद गरिएको थियो । तर यो परिणाम र संलग्न व्यक्ति थप बढ्न सक्ने देखिएको छ । यस कार्यमा राजनितिक दलदेखि जनप्रतिनिधि समेत संलग्न रहन सक्ने आशंक गरिएको स्रोतले जनाएको छ । बरामद गरिएको काठ ‘वि’ ग्रेडको रहेको वनका प्राविधिहरु बताउँछन् । काठको सरकारी मूल्य अनुसार ‘वि’ ग्रेडको प्रति क्यूफिट ७ सय मूल्य रहेको छ । रेन्जर पोखरेलका अनुसार बरामद काठको स्थलगत अनुसन्धान गरी थप कानुनी प्रक्रिया अगाडि बढाइने छ ।

गाडी धनी घर्ती नेकपा पूर्वखोला गाउँपालिका ६ का वडा कमिटीका अध्यक्ष समेत रहेको बुझिएको छ । उनले काठ धनी सुनारले बाख्राको खोर बनाउनका लागि काठ ल्याइदिन भनेकाले आफुले गाडी पठाएको बताए । उनले भने ‘अबैध सालको काठ भएको थाहा भएको भए गाडी पठाउने थिएन् तर उहाँले बाख्राको खोर बनाउन भनेकाले गाडी पठाईदिएको हुँ ।’ काठ धनि सुनारले हेक्लाङ्गबाट आफनो मित भाइसँगबाट बाख्राको खोर बनाउन सालको काठ मगाएको बताए । उनले काठ किनेको नभई मित भाइको खरबारीमा रहेका काठ सहयोग लिएको बताएका छन् । नेपालमा सालको काठ निजी तथा सामुदायिक जुन क्षेत्रको भए पनि विना स्वीकृत काट्न बन्देज गरिएको छ ।

आवश्यक कानुनी कागजी प्रक्रिया पुरा नगरी काठ अबैध रुपमा ओसार–प्रसार गरेको घटना भने पाल्पामा यो पहिलो होइन । माफिया र विचौलीयाले जिल्लाको रामपुर, निस्दीको मित्याल, तिनाउको दोभान, माथागढीको गोठादी, रैनादेवी छहराको बल्डेङगढी लगायतका स्थानबाट ठूलो परिणममा काठ ओसार पसार हुने गरेको पाइन्छ । ओसार–पसारमा संलग्न व्यक्ति भने कानुनी दायरामा कमै आउने गरेका छन् । हरियो वन नेपालको धन भन्ने उखान अहिले तस्करीको धनमा परिणत भएको छ । यही अवस्था रहे वन सखाप हुन धेरै समय लाग्दैन ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update