Shittalpati
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनमा रहेको ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घरसंरचना हटाइने भएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका घरसंरचना हटाउन लागिएको हो ।

दरबार संरक्षणको जिम्मेवारी पाएको तानसेन नगर सरकारले दरबार र मूलढोकालाई प्रभावित गरेर निर्माण गरिएका सरकारी संरचनाहरु हटाउन सम्बन्धित निकायलाई बैशाख ४ गतेसम्मको समय दिएको छ । तानसेन नगरकार्यपालिकाको नवौं बैठकले शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घरसंरचना भत्काउने निर्णय गरेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताए । उनले भने ‘ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको दरबारलाई सुन्दरता प्रदान गर्न जिल्लाका राजनीतिक दल, नागरिक समाज, संघ र प्रदेशमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफल र सुझावबाट दरबार र मूलढोका परिसरका ५७ वटा घरसंरचना हटाउन लागिएको हो ।’ पुरातत्व विभागले समेत माघ १० गते तानसेन नगरपालिकालाई तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन पत्र पठाएको थियो । सोही अनुसार नगर सरकारले त्यसको प्रक्रिया थालेको हो । उसले मंगलबार सूचना जारी गर्दै ३५ दिन भित्र घरसंरचनाहरु हटाउन सम्बन्धित निकायलाई अनुरोध समेत गरेको जनाएको छ ।

यादवसिंह कार्की
नगर प्रवक्ता, तानसेन नगरपालिका
तानसेन नगरकार्यपालिकाको नवौं बैठकले पाल्पा दरबार परिसर बाहिर रहेका घर संरचना हटाइने निर्णय गरेको छ । बैठकले शित्तलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको हो । सोमबार बसेको सर्वपक्षीय क्षेत्रबाट प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको छ । पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको हो ।

 

नगर सरकारको नाममा तानसेन–४ मा रहेका १३ वटा घरटहरा सहित घरेलु शिल्पकलाका १३, रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा २००२ देखी २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा हटाउन लागिएको नगर प्रवक्ता कार्कीले एनजेडीलाई बताए । अहिले सटर वहाल सम्बन्धी गरिएको सम्झौता समेत रद्द गरिएको उनको भनाई छ । बुधबारदेखि प्राविधिक टोलीमार्फत नापजाँच कार्य थालिएको कार्कीले बताए । नापजाँच पछि यहाँको लागत स्टिमेट तयार हुने र सोही अनुसार बजेट विनियोजन गरिने छ । अहिले नगर सरकारको मर्मत सम्भार कोषमार्फत ५० लाख बजेट विनियोजन गरिएको प्रवक्ता कार्कीले बताए ।

मूलढोकादेखि तेस्रो सडक क्षेत्रमा तानसेन नगरपालिका, रेडक्रस, कर्मचारी मिलन केन्द्र, घरेलु तथा शिल्पकला बिक्री भण्डार, बाल मन्दिर लगयातका ५७ घर टरहरु निर्माण छन् । यि संरचनाका कारण दबारको सौन्दर्यता माथि बेला–बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले दरबार र मूलढोका परिसरलाई पुरातत्व विभागले विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने भएपछि नगर सरकारले सौन्दर्यता बढाउन पहल थालेको हो । राणाकालिन समयमा दक्षिण एसिया कै सबै भन्दा ठूलो काठै काठको ढोका भनिने मूल ढोकाको पुर्ननिर्माण समेत गर्ने तयारी छ । दरबार परिसरमा बगैचा निर्माण गरिने भएकाले पुरातत्व विभागले संरचना खालि गर्न नगर सरकारलाई यस अघि पत्राचार गरेको थियो ।

सडक किनारा तथा दरबार र मुल ढोकालाई प्रभावित हुने गरी निर्मित संरचनाहरु हटाएपछि सडक ११ मिटर भन्दा बढी फराकिलो हुने जनाइएको छ । राणाकालिन समयमा निर्मित ऐतिहाकि दरबारमा सञ्चालित संग्राहालयलाई सडकबाट पैदल हिड्ने बटुवाले समेत सहजै अवलोकन गर्न सक्ने गरी सडक चौडा हुने जनाइएको छ । वि.सं. १९८० मा राणा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन माओवादी जनयुद्वको क्रममा जलेर ध्वस्त भएको थियो । २०७२ सालमा पाल्पा दरबार पुनर्निर्माण सकिएपछि संग्रहालयका रूपमा परिणत गरिएको हो । २०६२ सालअघि प्रशासनिक भवनका रूपमा रहँदै आएको पाल्पा दरबार पुनः निर्माण भएपछि दरबारमा रहेका कार्यालय अन्यत्र सारिएको थियो । संग्रहालयमा अहिले ६४ कोठा, २ बुर्जा रहेका छन् ।

नगर सरकारले निर्माण गरेको पाल्पा दरबार संग्रहालयको गुरुयोजना अनुसार दरबार परिसरमा रहेका कार्यालय अन्य स्थानमा सार्ने पुरानो संचनाअनुसार खुला संग्रहालय, स्वप्न बगंैचा निर्माण, शान्त वातावरण, मनोरम दृश्यसहितको १९८० को स्वरूपमा फर्काउने रहेको छ । सोही अनुरुप अहिले नगर सरकारले काम अगाडि बढाएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update