Shittalpati
पाल्पामा एमालेको अग्रता कायमै

पाल्पा, पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ५ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज सोमप्रसाद पाण्डेयले ३ हजार ९ सय १ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले ९ सय ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ६ सय ५८,स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले १ सय ६३ ,अर्को स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ३८ मत पाएका छन् । यहाँ घर चिन्हले ५२,तिरले ३८ र छाताले २६,मादलले ९ मत प्राप्त गरेका छन् ।

यस्तै उता क्षेत्र नं. १ मा पनि पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको प्रतिनिधि सभा सदस्यको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका नारायण प्रसाद आचार्यले ४ हजार ५ सय १५ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले २ हजार २ सय ५४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार विपिन कंडेलले १ सय ४९ मत प्राप्त गरेका छन् ।

यस्तै यहाँको प्रदेश सभा १ मा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ४ हजार ५ सय २ मत ल्याएर अग्रस्थानमा छन् भने नेपाली नेपाली काँग्रेसका श्यामकान्त खनालले २ हजार ६२ मत प्राप्त गरेका छन् । यहाँ क्षेत्र नं .१ को नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेनस्थित बालमन्दिर भवनमा मतगणना भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update