Shittalpati
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

पाल्पा, स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।
सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकेसँगै शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संघ र प्रदेशको निर्वाचनमा तालमेल गरेर जाने निर्णयमा हस्ताक्षर गरेका छन् । पछिल्लो समय गठबन्धन दलका केही नेताहरुले आगामी निर्वाचनमा तालमेल नहुने प्रतिक्रिया दिदै आए पनि शीर्ष नेताहरुले भने तालमेल गरेर जान सहमत भएका छन् ।
शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँडको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदल समेत गठन गरेको छ । कार्यदलमा काँग्रेसबाट ३ जना र अन्य दलबाट २÷२ जनाको प्रतिनिधित्व रहेको छ । कार्यदलमा काँग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन रहेका छन् । त्यस्तै जसपाबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य रहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update