Shittalpati
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’

पाल्पा, नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

केन्द्रीय सदस्य रसाइलीले ‘म आफै यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया । सबैको मतको अधिकार उतिनै हो’, उनले भने, ‘त्यो समाजको पिँधमा रहेका समुदायको मुद्दा अब काँग्रेसले उठाउनु पर्छ ।’ नेता रसाइलीले सामान्य नागरिकका समेत मुद्दा उठाउन जिल्लास्तरका नेताहरुलाई आग्रह गरे । उनले आरक्षण सुविधाबारे पार्टीले प्रष्ट नीति बनाउनुपर्नेमा जोड दिए । उनले आरक्षणका नाममा एउटै व्यक्तिले सधैं अवसर पाइरहने अवस्थाको अन्त्य हुनुपर्ने बताए । सांसद रसाइलीले आरक्षणको समान वितरण हुनुपर्नेमा जोड दिए । ‘एउटा व्यक्तिलाई एक पटक मात्रै आरक्षणको सुविधा हुनुपर्छ,’ उनले भने, ‘यो राज्यको लाभको पदमा होस् या पार्टीभित्र । सबै ठाउँमा लागू हुनुपर्छ । यसबारे पार्टीमा बहस हुनु जरुरी छ ।’ एउटै पदमा पटकपटक एउटै व्यक्तिले लाभ लिनु उचित नहुने उनको तर्क छ । ‘उनले सधैं एउटै व्यक्तिले आरक्षणका नाममा अवसर लिइरहने अनि अरुले त्यो सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ, अब त्यसको अन्त्य हुनुपर्छ ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले अब काँग्रेसको संगठन बनाउन केन्द्रमा बसेर होइन गाउँ–गाउँ पुगेर जनताको समस्या बुझ्न आवश्यक रहेको औल्याए । उनले केन्द्रीय नेतृत्वलाई पार्टी संगठन बलियो बनाउन गाउँ–गाउँ जान समेत आग्रह गरे । सभापति श्रेष्ठले पार्टीलाई संस्थागत गर्ने कुरामा पाल्पा काँग्रेस एक ढिक्का भएर अगाडि बढेको बताए । उनले काँग्रेसका संरचनागत तहमा रहेर पार्टीलाई बलियो बनाउन अभिभाकत्व ग्रहण गर्ने सबै नेताहरुलाई पार्टीले उच्च सम्मान गर्दै आएको र आगामी दिनमा समेत उचित स्थानमा राख्ने धारण व्यक्त गरे । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपालले विभेदको अन्त्य गर्ने दिशामा काँग्रेस अगाडि बढेको बताए । उनले पार्टीलाई बलियो बनाउन वडा तहदेखि सशक्त ढंगले लाग्न नेता कार्याकर्ताहरुलाई आग्रह गरे । कार्यक्रमम नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गरिहे, पार्टी सचिव सुनिता अधिकारी, महासमिति सदस्यहरु राजेन्द्र गोपाल सिंह, शोभा शाक्य, नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी, क्षेत्र २ क का सभापति लक्ष्मी अधिकारी, नेविसंघका जिल्ला कार्यवाहक सभापति सुरेश बोहोरा लगायतले व्यक्ति भन्दा पनि प्रवृत्तिमा सुधार ल्याउनुपर्नेमा जोड दिए । संघका सभापति लक्ष्मण हिता·को अध्यक्षता, उप सभापति दिनेश गन्दर्भको स्वागत, सचिव कृष्ण गहतराजको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update