Shittalpati
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?

हाम्रा संवाददाता
पाल्पा, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मसिंर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मसिंरका लागि तय गरेको छ । यहाँ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भए पनि नेपाली काँग्रेस पाल्पाले आज नै अधिवेशन गर्न लागेको हो । जिल्लामा आज हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको काँग्रेसले जनाएको छ । यहाँ प्रतिनिधिसभा क्षेत्रको नेतृत्वका लागि आंकाक्षीहरु धेरै देखिएका छन् ।

आज हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा क्षेत्रीय सभापतिका लागि झमनबहादुर राज मगर र विष्णु बमरेल प्रतिस्पर्धी रहने आँकलन गरिएको छ । यो समाचार तयार पार्दासम्म दुवै जनाले उम्मेदवारी घोषणा नगरे पनि मत आ–आफ्नो पक्षमा पार्नका लागि प्रचार–प्रसारलाई भने तीव्र बनाएका छन् । यहाँको अधिवेशन रम्भा गाउँपालिका –४ हुमिनमा हुने नेपाली काँग्रेसका क्षेत्रीय सभापति सन्तोष थापा मगरले बताए । उनका अनुसार सहमतिमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिमा यादव सिं कार्की र मुक्तिराम जिसी बिच प्रतिष्पर्धा हुने जनाइएको छ । यद्यपी उनीहरुले उम्मेदवारी घोषणा नगरे पनि प्रचार प्रसारलाई भने तीव्र बनाएका छन् । दुवै जना चुनावी मैदानमा उत्रिने दावी गर्दै आएका छन् । यहाँको अधिवेशन भने तानसेनमा हुँदैछ । दुवै क्षेत्रको सभापति पदमा उम्मेदवारी दिएका चारै जना नेपाली काँग्रेस पाल्पाका क्रियाशिल नेता हुन । उनीहरु सबै युवा नेता र क्रियाशिल भएकाले पनि क्षेत्रको नेतृत्वका लागि कस्ले बाजी मार्ला भन्ने चासो सर्वत्र रहेको छ ।

पाल्पाबाट ५३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको निर्वाचनका लागि समेत क्षेत्रबाट प्रतिनिधि हुनुपर्ने प्रावधानका कारण यस निर्वाचनलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यहाँ प्रदेश सभाको अधिवेशन शुक्रबार भएको छ । जिल्लाका चारवटै प्रदेश सभाबाट नयाँ नेतृत्व आएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update