Shittalpati
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सय जरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् । स्थानीय केही व्यक्तिहरुको उपस्थितिमा कागज गराई आर्थिक जरिवाना गराएको घटनाले गुल्मी जिल्लामा क्रियाशिल दलित साझा मञ्च, दलित संघ संगठन, दलित अधिकारकर्मी, मानव अधिकारकर्मी लगायतको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।

नेत्रबहादुर काउछाको घरमा पसेको भन्दै त्यस गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिल्या परियारका छोरा श्याम परियारलाई जरिवाना गराई जातिय विभेदको घटनाले दलित आन्दोलनलाई चुनौती दिएको दलित अधिकारकर्मीहरु बताउँछन् । उनीहरुले सिङ्गो दलित समुदाय माथि नै धावा बोलेको भन्दै आपत्ति जनाउँदै प्रशासन कार्यालयमा आएको बताए । कौशिला परियारको आमाको गत वैशाख २२ गते मृत्यु भएपछि स्थानीय लुग खोलामा दाहसंस्कार गरी मलामीहरु फर्कने क्रममा हावाहुरी र पानी परेको थियो ।

अत्याधिक पानी परेपछि बाटोमा पर्ने काउछाको घरमा मलामी सहित श्याम परियार ओत लागेर बसेको घटनालाई घरभित्र पसी घर विटालु पारिदिएको भनेर जरिवाना गरिएको घटना अत्यन्तै निन्दनीय भएको बताएका छन् । त्यस्तै पीडित परियार र उनका बुवा धनबहादुर परियारलाई कुटपिट गरी, गाली गलौज र गाउँ निकाला गर्ने धम्की समेत दिएको बताईएको छ । अमानवीय घटनाबाट जातिय विभेद भएको छर्लङ्गै भएको ठहर गर्दै त्यस घटनाले नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, छुवाछुत मुक्त राष्ट्र घोषणा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, प्रतिवद्धताहरुको मर्म र भावनाको धज्जी उडाएको बताएका छन् ।

कानुनलई हातमा लिई जघन्य अपराध गर्ने पीडक काउछा तथा यसकार्यमा सहयोग पुर्‍याउने कथित स्थानीय केही व्यक्तिहरुलाई समेत जातिय भेदभाव तथा छुवाछुत कसूर र सजाय अनुसार मुद्दा चलाई हदैसम्मको कारवाही गर्न गराउन अधिकारकर्मीहरुले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी शर्माले अत्यन्तै दुःखद् घटना भएको बताए । उनले ज्ञापन पत्रलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको बताए । त्यस्तै आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रजिअ शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update