Shittalpati
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित

रामचन्द्र रायमाझी
पाल्पा, सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था पनि गरिएको छ । शिक्षा ऐन २०२८ को संशोधन ऐन २०७३ को नियम ११ को उपनियम (६) मा गरिएको व्यवस्थाको तालिका (५) मा स्वास्थ्य सुरक्षा र बचावटसम्बन्धी न्यूनतम अपेक्षित मापदण्ड अनुसार हरेक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान राखिए पनि सरकारी तवरबाट विद्यार्थीहरुको स्वास्थ्य परीक्षण खासै हुने गरेको पाइँदैन । तर, केही नीजि तथा सामाजिक संघ संस्थाहरुले भने विद्यालयमै पुगेर विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने गरेको पाइन्छ ।

पाल्पामा पनि केही सामाजिक तथा नीजि संघसंस्थाहरुले सामुदायिक विद्यालयमै पुगेर शिविरमार्फत विद्यार्थीहरुको कानको परीक्षण तथा रोकथाम र नियन्त्रणका उपायहरुका बारेका जानकारी गराएका छन् । रोटरी क्लव अफ पाल्पा तानसेन, रोटरी क्लब अफ काठमाण्डु मिडटाउन्, रोटरी क्लव अफ लिभरमोर, इयेर केयर नेपाल र रोट्रयाक क्लव अफ पाल्पा तानसेनको संयुक्त आयोजनमा जिल्लाका ८ वटा सामुदायिक विद्यालयका २ हजार ३ सय ५० विद्यार्थीहरुको कान परीक्षण गरिएको छ । जसमा २४ जना विद्यार्थीको कानको शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रिया गर्नुपर्ने विद्यार्थीहरुका लागि सम्पूर्ण खर्च रोटरी क्लव अफ लिभरमोरको आर्थिक सहयोग र सम्पूर्ण क्लवहरुको समन्वयमा हुनेछ । उनीहरुले मंसिर ११ गतेदेखि १५ गतेसम्म शिविरमार्फत विद्यार्थीको कान परीक्षण गरेका थिए । विद्यार्थी संख्या बढी भएका सामुदायिक विद्यालयहरुको छनौट गरी विद्यार्थीहरुको कान परीक्षण गरिएको रोटरी क्लव अफ तानसेन पाल्पाका अध्यक्ष हरि रायमाझीले बताए । कानको सरसफाइ र हेरचाह गर्न विद्यार्थीलाई जानकारी दिने तथा समस्या भएकाहरूको उपचार र परामर्शका लागि शिविर सञ्चालन गरिएको उनले बताए । अध्यक्ष रायमाझीका अनुसार तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको कान परीक्षण गरिएको हो ।

शिविरमा देववाणी संस्कृत मावि, खानीगाउँ मावि, भुसालडाँडा मावि, पद्म पब्लिक मावि, भैरव जनता मावि, महेन्द्र जनता प्रावि, कालिका प्रावि र जनता नमूना माविका २ हजार ३ सय ५० विद्यार्थीहरुले कान परीक्षण गराएका छन् । इयेर केयर नेपालका डा. मिलन महर्जन, डा. सम्झना फुँयाल र चार जना स्टार्फ नर्स सहितको टोलीले विद्यार्थीको कान परीक्षण तथा उपचार परामर्श दिएका थिए । रोटरी क्लब अफ काठमाण्डु मिडटाउनका पूर्व अध्यक्ष तथा निर्देशक पारस राणाको संयोजकत्वमा पाँच दिने शिविर भएको थियो । विद्यालयमै कान परीक्षण गराउन पाउँदा विद्यार्थी उत्साहित भएका छन् । जनता नमूना मावि कक्षा ८ मा अध्ययनरत क्षितिज कुंवरले विद्यालयमै कानको चेक जाँच गर्न पाएकोमा खुसी व्यक्त गरे । कक्षा १० मा अध्ययनरत आयुष न्यौपानेले पनि आर्थिक अभावमा चेक जाँच गर्न नसकेको अवस्थामा निःशुल्क रुपमा परीक्षण गराउन पाउँदा उत्साहित छन् । कानमा समस्या देखिएपछि थप उपचार गर्न लाग्ने खर्च समेत नलाग्ने भएपछि न्यौपाने झन् उत्साहित छन् । न्यौपाने र कुंवर मात्र होइन निःशुल्क चेक जाँच र उपचार पाएपछि २ हजार ३ सय ५० विद्यार्थीहरु समेत उत्साहित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update