स्वास्थ्य

रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या

Shittalpati Reporter

सुशीला रेग्मी (रासस)
रामपुर (पाल्पा), पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार केन्द्रको अभाव खड्किएको छ । पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व (नवलपुर) क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा प्रत्यक्ष अस्पतालसँग जोडिएका छन् । यी क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिने भरपर्दो र दैनिक जीवनयापनसँग जोडिएको अस्पताल हो । सेवाग्राहीको संख्या थपिँदै जाँदा अस्पतालमा विभिन्न प्रकृतिका बिरामी उपचारमा आउने गरेको पाइन्छ । पछिल्लो समय यस क्षेत्रमा सडक स्तरोन्नति तथा पक्की बन्दै जाँदा दुर्घटना दिनहुँजसो हुने गरेको छ । आकस्मिक सेवा लिन आउने बिरामीलाई तत्काल रक्तसञ्चार दिनुपर्ने हुँदा रगत अभावको समस्या स्थानीयले भोगिरहेका छन् । कतिपय सन्दर्भमा रक्तदान गर्न इच्छुक भए पनि समूह नमिल्दा अप्ठ्यारो स्थिति पनि भोग्नु परिरहेको छ ।

अस्पतालको दायरा बढ्दै जाँदा धेरै टाढाका बिरामी सेवा लिन आउने क्रम बढिरहेको हुँदा कतिपय बिरामीलाई तत्काल ब्लड दिनुपर्ने अवस्था रहेकाले यहाँ रक्तसञ्चार केन्द अति आवश्यक रहेको रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल (रमेश) बताउँछन् । ‘अस्पताल आफैँले मात्रै पहल गरेर मात्रै हुँदो रहेन छ, रक्तसञ्चार केन्द्र स्थापना गर्न नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखासँग कुरा भइरहेको छ,’ उनले भने, ‘यस सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागमा पत्र पठाइएको छ तर रक्तसञ्चार केन्द्र स्थापनाका लागि अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।’ रेडक्रसको पहलमा रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने कुरा भए पनि स्थानीय सरकार, अस्पताल विकास समिति र रेडक्रस समिति बीचको छलफल गर्ने तालमेल नमिल्दा अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले बताए । ‘केन्द्र स्थापना नहँुदासम्मका निम्ति हाललाई स्थानीयबाट रक्त समूह पहिचान गरेर राखिएको छ, अति आवश्यक परेको खण्डमा बिरामीलाई रगत उपलब्ध गराइएको छ, यसले ठूलो राहत मिलेको छ,’ उनले भने । रेडक्रस शोसाइटी र रामपुर अस्पतालको समन्वयमा तत्काल रक्तसञ्चार दिनुपर्ने बिरामीलाई दृष्टिगत गर्दै विभिन्न स्थानमा शिविर आयोजना गरी रक्त समूह पहिचान गर्ने काम भएको छ । यहाँ पहिलो चरणमा रामपुर नगरपालिका–५, ६ र ७ तथा शहीद बहुमुखी क्याम्पसमा शिविर आयोजना गरी रक्त समूह पहिचान गरिएको छ । अब क्रमशः नगरका अन्य वडा तथा स्थानमा शिविर सञ्चालन गर्ने तयारी रहेको छ । अस्पतालमा बिरामीको अवस्था हेरेर चिकित्सकको सल्लाहमा आवश्यकता पहिचान गरी ब्लड दिने गरिएको छ ।

यहाँ केन्द्र स्थापना भएको खण्डमा रक्तसञ्चार अभाव हुने समस्या सधाका लागि हट्नेछ । रामपुर अस्पतालमा निर्माण भइरहेको भवन सकिन लागेकाले रक्तसञ्चार केन्द्र स्थापनका लागि पूर्वाधारको समस्या भने हुने छैन । चिरफार, दुर्घटना, हड्डी, गाइनोलगायत ठूला–ठूला रोगको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक पर्ने भएकाले ब्लड बैंक स्थापना गरी पहिले नै रगत संकलन गरियो भने रामपुरमा जुनसुकै समय पनि रगतको अभाव नहुने सिटी मेडिकल हल रामपुरका सञ्चालक अमृत काफ्ले बताउँछन् । ‘अहिलेलाई काम चलाउन आवश्यक पर्दा रक्त समूह परीक्षण गरेर तत्काल रगत झिकेर दिने गरिएको जानकारी छ, अस्पतालको सेवासुविधा बढ्दै जाँदा यहाँ ब्लड बैंक नै आवश्यक छ, यसको व्यवस्थापनका लागि सम्बन्धित निकाय तात्नुपर्ने हुन्छ’, उनले भने । उनका अनुसार मेडिकलमा सेवा लिन आउने सेवाग्राहीलाई रगत अभावको समस्या देखिएमा रामपुर अस्पताल, सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पठाउने गरिएको छ । सुत्केरी र आकस्मिक रुपमा अस्पतालमा भर्ना हुने विरामीलाई रगत तत्काल आवश्यक पर्ने हुँदा दीर्घकालीन रुपमा यसको व्यवस्थापन गरिनुपर्ने बताउन्छन्, युवा अशोक श्रेष्ठ । सामान्य स्वास्थ्य सेवासम्मको पहुँच सम्पूर्ण नागरिकको अधिकार हो । व्यवस्थित तरिकारले सञ्चालन भएको रक्तसञ्चार सेवा स्वास्थ्य सेवाको एउटा अभिन्न अङ्गका रुपमा पदर्छ, जसको माध्यमबाट धेरै जीवन बचाउन सकिन्छ । त्यसकारण गाउँ गाउँमा यसको पहुँच पु¥याउन सकियो भने रगत अभावमा कोही पनि बिरामीले अकालमा मृत्युवरण गर्नु पर्दैन ।


प्रकाशित मिति: बिहिवार, आश्विन ६, २०७९, ११:१६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरोनासँगै डेंगुको सामना बिहिवार, आश्विन ६, २०७९, ११:१६:००
घट्दै कोरोना संक्रमण बिहिवार, आश्विन ६, २०७९, ११:१६:००