स्वास्थ्य

कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता

Shittalpati Reporter

रामचन्द्र रायमाझी
पाल्पा, कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२ पुगिसक्यो । शुक्रबार थप ५ सय ७७ जनामा संक्रमण देखिसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ पुगेको छ ।

एकै दिन देशभर ५ सय ७७ जना संक्रमित भेटिनुले यसको दरको तीव्रतालाई संकेत गरेको छ । संक्रमितमध्ये पनि केही नयाँ छन् र केही पहिला संक्रमित भइसकेका, खोप लगाइसकेका पनि छन् । केही समयदेखि कोभिडका बिरामी शून्य रहेको पाल्पामा पछिल्लो समय सक्रिय संक्रमित Þवात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या बढेको हो । अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको सम्बन्धित अस्पतालहरु बताउँछन् । पाल्पामा दिनप्रतिदिन संक्रमितको संख्या उकालो लाग्दै गएको छ । यहाँ शुक्रबारसम्मको आंकडालाई हेर्दा ५७ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमणको दर उकालो लाग्दै गए पनि न त संक्रमणको डरले सर्वसाधारण ‘आतंकित’ बनेका छन्, न संक्रमितलाई पहिलेजस्तो ‘असभ्य’ व्यवहार नै गरिएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक भएको चिकित्सकहरूले बताइरहे पनि सार्वजनिक स्थल, बजारमा भीड घटेको छैन । सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन् । विभिन्न संघसंस्थाले गरेका कार्यक्रम, खुला स्थान र बसपार्कमा मानिसको उपस्थिति बाक्लै छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य मापदण्डको पालना भएको देखिँदैन ।

संक्रमणदर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले सक्रियता बढाएको कोभिड फोकल पर्सन विश्वनाथ न्यौपानेले बताए । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेशन केन्द्रलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्न स्थानीय सरकारहरुलाई आग्रह गरिसकिएको उनले बताए । न्यौपानेका अनुसार कोभिड–१९ को परीक्षणको दायरालाई बढाउँदै लैजानका लागि आवश्यक ब्यवस्था मिलाइएको छ । पहिलाको जस्तै कोरोनाले दीर्घरोगी वा लामो समयदेखि औषधि सेवन गरिरहेका जेष्ठ नागरिकलाई समस्या पार्न सक्ने भएकाले उक्त वर्गका मानिसले उच्च सतर्कता अपनाउनुपर्नेमा स्वास्थ्य कार्यालयले सबैलाई अनुरोध गरेको छ । उसले सकेसम्म भीडभाडमा नजान र जानैपर्ने अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ ।


प्रकाशित मिति: शनिवार, श्रावण १४, २०७९, ०१:०७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरोनासँगै डेंगुको सामना शनिवार, श्रावण १४, २०७९, ०१:०७:००
घट्दै कोरोना संक्रमण शनिवार, श्रावण १४, २०७९, ०१:०७:००