Shittalpati
कोरोना संक्रमण बढ्दै, सोमबार ४१ जनामा पुष्टि

पाल्पा, पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो साता दैनिक थपिने संक्रमितको संख्या ३० देखि ४० पुगेको छ । विशेषगरी नेपालसँग सीमा जोडिएका भारतका सहरहरूबाट नेपाल भित्रिने नागरिकमा संक्रमण देखिएको छ ।

सोमबार पनि थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३ सय ५८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल २ सय ८ जना सक्रिय संक्रमित छन् । सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४ सय ९ पुगेको छ । संक्रमितमध्ये संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोमबार एक लाख २७ हजार ७ सय ९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हाल होम आइसोलेशनमा २ सय २, संस्थागत आइसोलेशनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको छ । कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाले फेरि अर्को लहर निम्तिन सक्ने त्रास पैदा भएको छ । तर, अहिले देखिएको संक्रमणकै आधारमा अर्को लहर भित्रिने सम्भावना भने कम रहेको विज्ञहरू बताउँछन् । पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप ठूलो जनसंख्याले पाइसकेको हुँदा फेरि संक्रमण पहिलेको जस्तै उच्च हुने सम्भावना कम देखिएको उनीहरुको भनाई छ । भाइरसले ओमिक्रोनजस्तै संक्रामक रूप लिए संक्रमितको संख्या बढ्न सक्ने अवस्था भने रहन्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update