Shittalpati
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको हो ।

तानसेनमा देखिएका संक्रमितहरु मध्ये वडा ६ का ७ जना, वडा १ का १ जना, वडा ४ का ३ जना, वडा ३ का २ जना, वडा १२ का १ जना, वडा ९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक शिरबहादुर रानाले जानकारी दिए । अन्य तीन जनाको भने ठेगना खुल्न सकेको छैन ।

शनिवार थपिएका संक्रमितहरु अधिकांस समुदाय स्तरका रहेको बुझिएको छ । जिल्लामा थपिएका ७५ जना संक्रमितसँगै कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ५० जना निको भएर घर फिर्ता भएका छन् ।

पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ३० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५० जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा शुक्रबार मात्र १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update