Shittalpati
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन

पाल्पा । जिल्लाको माथागढी गाँउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको छ । समुदायस्तरका ८ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो । यस अघि समुदायस्तरका १ सय ८३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि थप संक्रमण फैलन नदिनका लागि पुन समुदायस्तरमै स्वाब संकलन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

आइसोलेशनमा राखिएका नागरिकहरुलाई दुई हप्तापछि विना परीक्षण घर पठाउने सरकारको निर्णयले समुदायस्तरमा सक्रमण फैलिदै गएको अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाले समुदायस्तरका ८ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुका सम्पर्कमा रहेका र क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेको छ । विहिबार र शुक्रकार २ सय ३३ जनाको स्वाब संकलन गरी पठाईउको अध्यक्ष थापाले बताए ।

स्वास्थ्य संयोजक केशव जिसिका अनुसार वडा १,२,३,४,५,६,८ गरी ७ वडाका २ सय ३३ जनाको स्वाब संकलन गरी जनस्वास्थ्य कार्यालय भैरहवा पठाइएको छ । भारत तथा तेस्रो मूलुक र बाहिरी जिल्लाबाट आएका साथै समुदायका कोरोना संक्रमित व्यक्तिहरुको नजिकमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ गरिएको संयोजक जिसीले बताए । संक्रमित व्यक्तिहरुलाई मिसन अस्पतालमा निर्माण गरिएको आईसोलेशनमा २ जना छन् भने, ४ जना समुदायकै आईसोलेशनमा राखिएको गाउँपालिकाले जनाएको छ । उनीहरुको अवस्था अहिले समान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update