Shittalpati
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

पाल्पा, सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्याार्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । छात्रवृत्ति आवेदन ३१ भदौसम्म दिन सकिनेछ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटबाट लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update