Shittalpati
भैरव नवदीपलाई  कुमारी बैंकको सहयोग

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो । बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बिच बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादवबहादुर रायमाझीलाई उक्त जिन्सी सामान हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै बैंकका प्रमुख अधिकृत खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठन–पाठन सम्भव नरहेका बेला सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाईमा सहज होस् भन्ने उद्देश्यले विद्यालयलाई कम्प्युटर र ल्यापटप सहयोग गरेको बताए । उनले दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे । बैंकले विगतका दिनहरुमा पनि शिक्षा, स्वास्थ्य र वातावरण जस्ता क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । बैंकले बाढी पहिरो पीडितलाई पनि सहयोग पुर्‍याउँदै आइरहेको जनाएको छ ।

समान ग्रहण गर्दै मानार्थ रथी रायमाझीले विषम परिस्थितीमा विद्यालयप्रति बैंकले देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । यस वर्ष नेपाल सरकारले भैरव नवदीप माविलाई नमूना विद्यालयको रुपमा छनौट समेत गरेको छ । सरकारले नमूना विद्यालय छनौट गर्न २०७६ साल असोज १६ गते गोरखापत्रमा सूचना गरी आवेदन आव्हान गरेको थियो । जस अन्तर्गत शिक्षा विकास तथा प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णय अनुसार पाल्पामा रम्भा मावि र नवदीप माविलाई नमूना विद्यालयको रुपमा छनौट गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update