Shittalpati
राजनीतिक वितृष्णाको परिणति

पछिल्लो समय आम नागरिकमा राजनीतिक वितृष्णा पैदा भएको छ । राजनीति गर्न पैसा, पावर र पहुँच चाहिन्छ भन्ने आम बुझाइ छ । त्याग, तपस्या, इमानदारिता, नैतिकता छायाँमा पर्दै जाँदा राजनीतिप्रति वितृष्णा बढ्दो छ । सत्तामा पुगेपछि राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र नेताहरू लिप्त हुँदा राजनीतिप्रति नयाँ पुस्ताको आकर्षणसमेत घटदै गएको छ । राज्य सत्ता फालेर ल्याएको संघीय गणतान्त्रिक व्यवस्थाले राज्यको पुनर्संरचना गर्दै तीन तहको सरकार गठन भयो । तर, प्रशासकीय र राजनीतिक चरित्र पुरानै छ । त्यसैले राजनीतिप्रति जनताको वितृष्ण बढ्दो छ । मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभाको अहिलेसम्म प्राप्त परिणामबाट पनि आम जनताको राजनीतिकप्रति वितृष्णा र आक्रोश रहेको प्रष्ट हुन्छ । यसैको फस्वरुप अहिले स्वतन्त्र उमेदवारहरुको उदय भइरहेको छ । जुन राजनीतिकै लागि भनेर समर्पित रहेका दलहरुका निम्ति ठूलो चुनौतीका रुपमा अघि आइरहेको छ । अझ त्यसमा पनि युवाहरुको साथ र सहयोग पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले दलहरुका निम्ति खतराको घण्टी बजाइरहेको छ ।

अन्तिम परिणाम आइसक्न बाँकी भएपनि अहिलेसम्मको गणनाले दिएको सन्देश प्रस्टै छ । नागरिकहरूले देशमा सुधार चाहेका छन् । देशको मुहार फेर्न संसद् र सरकारमा पुग्ने अनुहारहरू बदल्न चाहेका छन् । यसकै परिणति अहिलेको निर्वाचनको मतपरिणाम हो । अघिल्लो चुनावका तुलनामा एमाले र माओवादी केन्द्रको सिट संख्या नै उल्लेख्य घट्ने देखिएको छ भने कांग्रेसले पनि समानुपातिक मत राम्रैसँग गुमाउँदै छ । पुराना राजनीतिक नेताहरूप्रति नागरिकहरू वाक्कदिक्क छन् । त्यही भएरै आप्mनो सार्वभौम नागरिक शक्तिको उनीहरूले विवेकपूर्ण प्रयोग गरेका छन् । यो अत्यन्त सकारात्मक छ । यसो हुुन आवश्यक छ । अब बन्ने संसद् र सरकारले परिणाम दिन सके यसमै दलहरूको भविष्य निर्भर छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update