
विश्व खाद्य दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै अछ । यो हरेक वर्षको १६ अक्टोवरमा मनाउने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाउने गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको नेपालले २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ । नेपालले मनाएको पहिलो खाद्य दिवसको नारा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ थियो तर नारा र घोषणामा प्रतिवद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो ।
कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन । वार्षिक झण्डै ५० अर्ब हाराहारीको कृषि उपज विभिन्न देशहरुबाट नेपालले आयात गरिरहेको छ । ६० प्रतिशत कृषि व्यवसाय र ५८ प्रतिशत कृषियोग्य भूमि रहेको कृषि प्रधान देश भनिएको नेपाल कृषिजन्य निर्यातमा होइन आफ्नै उत्पादनले आत्मनिर्भर बन्न सकिरहेको छैन । स्वदेशी उत्पादनले उपभोगको करिब ७० प्रतिशत पनि धान्न सकिरहेको छैन । प्रमुख खाद्यान्नमा पर्ने धान, मकै, गहुँ, कोदो, जौ, फापरमै नेपाल आत्मनिर्भर हुन सकिरहेको छैन । अहिले नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । समृद्धिको भाषण गर्न नथाक्ने नेताहरुको प्राथमिकतामा कृषि कहिल्यै परेन । राष्ट्रवादका नाराले मात्र कृषि उत्पादन बढेन, भोका किसानको पेट भरिएन, न त युवा किसानको खाडी यात्रा नै रोकियो । कृषिको दीर्घकालीन रुपान्तरणका लागि समयमै आवश्यक पहल गर्न नसक्ने हो भने केही वर्षपछि हामीले खाद्यान्न आयात दिवस मनाउनुपर्ने छ । यसर्थ बर्सेनि मनाइने खाद्यान्न दिवसमा सबैभन्दा पहिले स्रोत–साधनमा पहुँच नभएका, रातदिन कृषि कर्ममा समर्पित तर सधैं खाद्यान्न अभाव भोगिरहेका लाखौं नेपाली किसानको आवश्यकता परिपूर्तिका लागि हामीले कति सार्थक प्रयत्न गरेका छौं भन्ने कुरा मनन् गर्नु आवश्यक छ । त्यसो गर्न सके मात्र खाद्य दिवस मनाउनुको सार्थकता रहन्छ ।