हरेक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन । बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन ।
यस दिवसले बालबालिकालाई श्रमको बोझबाट मुक्त गरी शिक्षा, स्वास्थ्य, सुरक्षा र सम्मानपूर्ण बाल्यकालको अधिकार सुनिश्चित गर्न विश्व समुदायलाई सचेत गराउने उद्देश्य राख्ने गर्दछ । बालश्रम केवल आर्थिक समस्या मात्र होइन, यो मानव अधिकार, सामाजिक न्याय र दिगो विकाससँग जोडिएको गम्भीर चुनौती हो । नेपाल लगायत धेरै विकासोन्मुख मुलुकहरूमा गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता तथा कानुन कार्यान्वयनको कमजोरीका कारण बालश्रम अझै विद्यमान छ । होटल, रेस्टुरेन्ट, यातायात, कृषि, निर्माण तथा घरेलु काममा संलग्न हजारौँ बालबालिकाले विद्यालय जानुपर्ने उमेरमा श्रम गर्न बाध्य भइरहेका छन् । यस्ता बालबालिका शारीरिक, मानसिक र भावनात्मक शोषणको जोखिममा समेत पर्ने गरेका छन् । बालश्रमले बालबालिकाको वर्तमान मात्र होइन, भविष्य पनि अन्धकारमय बनाउँछ । शिक्षा प्राप्त गर्ने अवसर गुम्दा उनीहरूको क्षमता विकास अवरुद्ध हुन्छ र गरिबीको चक्र एक पुस्ताबाट अर्को पुस्तामा सर्ने खतरा बढ्छ । त्यसैले बालश्रम अन्त्य गर्नु भनेको केवल बालबालिकाको अधिकार रक्षा गर्नु मात्र होइन, राष्ट्रको समग्र विकास र समृद्धिको आधार तयार गर्नु पनि हो । तसर्थ बालबालिकाको मुस्कान, शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गरी देशको विकास र समृद्धिका लागि बालश्रमविरुद्ध सबै एक जुट भएर लाग्न जरुरी भएको छ ।
