गर्मी मौसमका कारण तापक्रम बढ्ने, तातो हावा चल्ने तथा विभिन्न स्वास्थ्य समस्या देखापर्ने समस्याहरु देखिएका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण गर्मी अझ तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यप्रति सचेत रहनु प्रत्येक नागरिकको जिम्मेवारी बनेको छ । गर्मीलाई सामान्य मौसम परिवर्तनका रूपमा मात्र नलिएर यसबाट हुन सक्ने असरहरूबारे जानकारी राख्नु आवश्यक छ ।
गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो । गर्मी बढ्न थालेसँगे अहिले विभिन्न अस्पतालहरुमा विरामीहरुको समेत भिड देखिन थालेको छ । सानो कुरामा ध्यान नदिनाले विभिन्न किसिमका रोगहरूको सिकार बन्नु परेको छ । रोग लाग्नबाट बच्न समयमै ध्यान पुर्याउनु आवश्यक छ । यद्यपी मौसमको खराबीका कारण रोग लाग्ने होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका कारण मात्र यस्तो अवस्था भोग्नु पर्दछ । गर्मीमा स्वास्थ्य जोगाउन पर्याप्त मात्रामा पानी पिउनु सबैभन्दा महत्वपूर्ण उपाय हो । तिर्खा नलागे पनि नियमित रूपमा पानी तथा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । ताजा फलफूल, हरियो सागसब्जी र पोषिलो भोजन खानु आवश्यक छ । अत्यधिक तेलयुक्त, मसलेदार तथा बासी खानेकुराबाट टाढा रहनुपर्छ । साथै, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने, हलुका र सुती कपडा लगाउने तथा छाता वा टोपीको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । सरकार तथा सम्बन्धित निकायले पनि सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था, स्वास्थ्य सचेतना कार्यक्रम तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन ध्यान दिनुपर्छ । विद्यालय, कार्यालय तथा समुदायस्तरमा गर्मीबाट बच्ने उपायबारे जनचेतना फैलाउनु आजको आवश्यकता हो । स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । गर्मी मौसममा सामान्य सावधानी अपनाएर धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । त्यसैले गर्मीको समयमा आफू पनि सचेत बनौं र अरूलाई पनि सचेत गराऔं ।
