Shittalpati
रेडियोग्राफी दिवसको सार्थकता

आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो । सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने एक पद्धति हो । सामान्य भाषामा रेडियोग्राफीलाई एक्सरे वा विकिरण भनेर बुझ्न सकिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।

विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । रेडियोग्राफीको माध्यमले शरीरभित्रका हड्डी, क्याभिटी र कुनै बाहिरी पदार्थ भए÷नभएको पत्ता लगाउन सकिन्छ । सामान्यतया, एक्सरे दुई किसिमले गरिन्छ । कम्प्लिकेट रेडियोग्राफी र डाइरेक्ट रेडियोग्राफी । डाइरेक्ट रेडियोग्राफी सजिलो पद्धति हो । जसबाट बिरामीको रिर्पोट चाँडो निस्कनुका साथै शरीरका अंगको तस्बिरसमेत स्पष्ट देखिने गरी निस्कन्छ । जो सबैभन्दा बढी प्रयोग हुने एक्सरे पद्धति पनि हो । एक्सरे गर्दा रेडिएसनको प्रयोग हुन्छ, जसको माध्यमले विभिन्न रोग पत्ता लाग्छ । अनि, उपचार गर्न सहज हुन्छ । रेडियोथेरापी, सिटी स्क्यान, न्युक्लियर मेडिसिनद्वारा क्यान्सरसँगै विभिन्न रोगकोे उपचारसमेत सम्भव छ । तर यसको दुरुपयोग भयो भने यसले ठूलो असर समेत निम्त्याउन सक्छ । यसको ज्ञान नहुँदा पनि कतिपयले यसको दुरुपयोग गरेको पाइन्छ । कतिपय अवस्थामा एक्सरेमा काम गर्ने व्यक्ति र बिरामीमा नकारात्मक असर पुग्छ । खासगरी, बच्चा, बुढाबुढीमा एनडिपी अर्थात् शरीरले पचाउन सक्ने रेडिएसनको मात्रा कम हुन्छ । त्यसैले, असर देखिन सक्छ । यसबाहेक, गर्भवतीलाई पनि रेडिएसनले चाँडो प्रभाव पार्ने भएकाले गर्भावस्थामा सकेसम्म एक्सरेको प्रयोग गर्न हुँदैन । तर, गर्भवतीको अवस्था हेरेर र आवश्यकता अध्ययन गरेर मात्रै यसको प्रयोग गर्र्नु राम्रो हो । रेडियोग्राफीको प्रयोग बारे सबैमा जानकारी हुन जरुरी छ । यसर्थ सबैमा रेडियोग्राफीको प्रयोगका बारेमा जानकारी दिन सकियो भने मात्र यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update