Shittalpati
पाल्पाको पर्यटन : पूर्वाधार र गन्तव्य बिनाको

मदन देउराली
घटस्थापनाको भोलिको दिन बसपार्कबाट एक हुल विद्यार्थीहरु दुई/चार जना शिक्षकहरुको नेतृत्वमा उकालो निक्लदै थिए । आन्दोलन चोकमा पुगे पछि उनीहरु कहाँ जाने भनेर अलमलमा परे । एक जना शिक्षकले दरबार जाने भन्दै थिए तर कहाँबाट जाने । संयोगवस यो स्तम्भकार त्यही उभिएको थियो । उनीहरु अलमलमा परेको देखेपछि मैले दरबार जाने बाटो बताइदिए । मैले बडिज्ञानटोलको ठाडै बाटो देखाउँदै यहीबाट जान आग्रह गरे । यदि ठाउँ –ठाउँमा तपाई यहाँ हुनुहुन्छ भन्ने लेखेको ठूला–ठूला बोर्डहरु र जहाँ कुन–कुन ठाउँहरु कहाँ छन् नाम सहित, बाटोको नक्सा आदि लेखिएको बोर्डहरुमा भएको भए शायद कसैलाई सोध्नै पर्दैन थियो होला । त्यही हेरेर नै तानसेन बजार भित्र भएका गन्तव्य बारे जानकारी पाउँथ्यो होला । पर्यटकहरुको आकर्षणको लागि फोटो सहितका ठूला–ठूला बोर्डहरु धेरै ठाउँहरुमा राख्नु पर्दछ । सकिन्छ भने यस्ता फोटो सहितका बोर्डहरु पाल्पा प्रवेश गरे लगतै हेर्न सकिने गरी सिद्धार्थ राजमार्गका धेरै जसो ठाउँहरुमा राख्नु पर्दछ । अब त सिजन शुरु भैसक्यो भ्रमणको । पर्यटकहरु तानसेन बजारमा देखिन थालिसके । मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरु, धार्मिक पर्यटकहरु तथा अन्य पर्यटकहरुको लर्को अब तानसेन बजारमा देखिदै छन् । करिब १०/११ वर्षका ४०/४५ जना विद्यार्थीहरु अनि चार/पाँच जना शिक्षकहरु बडिज्ञानटोलबाट उकालो लाग्दै थिए । विचरा ति बबुराहरुले के हेर्न आएका होलान् जस्तो लाग्यो । आन्तरिक भ्रमणमा आएकाहरुले के हेर्ने छन्, कति समय तानसेनमा बिताउने छन्, कति फाइदा यहाँका व्यवसायीहरुले लिने छन् अनिश्चित छ । स्थानीय सरकारले ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई समेटेर आन्तरिक तथा बाह्य पर्यटक तान्न विभिन्न कार्यक्रम ल्याइएको बताएको छ । तर के हुन ति ऐतिहासिक र सांस्कृतिक पक्षको परिभाषा ।

ऐतिहासिक दृष्टिकोणले पाल्पा एक महत्वपूर्ण जिल्ला हो । शक्तिशाली सेनवंशी राजाहरुको विशाल साम्राज्य, नेपाल राज्यमा विलय हुने सबभन्दा पछिल्लो जिल्ला हो । त्यसबेलाका दरबार, गढी किल्ला आदि–आदि सबै भग्नावशेष भैसकेका छन्, हेर्ने केही छैन किनकी तिनीहरुको संरक्षणको प्रयास पहिलेदेखि नै कतैबाट भएन् । अहिले पनि पुरानकोटमा मणि मुकुन्द सेन राजाको दरबारको भग्नावशेष छ । श्रीनगरडाँडामा महादत्त सेनले बनाएको दरबारको भग्नावशेष छ तर संरक्षण तिर कसैको चासो छैन । एउटा पर्यटकिय गन्तव्य बन्न सक्थ्यो होला यदि भएका संरचनाको संरक्षण भएको भए । तर दुर्भाग्य हुन सकेको छैन । त्यस्तै जिल्लाका ठाउँ–ठाउँमा त्यसबेलाका गढी किल्लाहरु छन् तर न संरक्षण छ न त प्रचार–प्रसार नै । इटली देशको राजधानी रोममा चार पाँच सय वर्ष अगाडिका रोमन साम्राज्य भएको बेलाका शहर, दरबार, घर, इट्टा, खम्बा आदि विग्रे भत्केको अवस्थामा जस्ताको तस्तै अहिलेसम्म पनि त्यतिकै सुरक्षित राखिएका छन् । त्यस्तै रोमन साम्राट तथा परिवारहरुको मनोरञ्जनका लागि बनाइएका रंगशाला जस्तो खेल मैदान जुन आधा भत्केको छ तर त्यसलाई पनि त्यतिकै राखिएको छ । यस्ता भत्केका संरचना हेर्न पनि वर्षेनी लाखौं लाख पर्यटकहरु रोम पुग्दछन् । टिकट लिएर मात्र लाइनमा बसेर भित्र जान पाइन्छ त्यो पनि सुरक्षागार्डहरुले चेक जाँच गरे पछि । यहाँ त्यस्तो कहिले होला खै । सांस्कृतिक पाटोलाई हेर्ने हो भने पहिला तानसेन बजारलाई सांस्कृतिक हिसाबले काठमाडौंको भाई भनिन्थ्यो । विभिन्न कालखण्डमा काठमांडौ उपत्यकाबाट आएका नेवारहरुको बाहुल्यता थियो । आफुहरुले काठमांडौ उपत्यकामा मनाइरहेका जात्रा चाडपर्वहरु यहाँ पनि स्थापित गराए पछि तानसेन सांस्कृतिमय भएको थियो, शास्त्रिय संगीतमय थियो तानसेन ।

बर्ष भरी नै विभिन्न जात्रा चाडपर्वहरु भैरहन्थ्यो । नाचगान भजन नाटकको लहर थियो । तर आज केही छैन । जात्राहरु आर्थिक अभावले दुव्लो हुँदै गइरहेका छन् । जेनतेन परम्परा धान्न नाम मात्र सकिनसकि गरिरहेका छन् । चाडपर्व आफ्नै घर भित्र सानोरुपमा सिमित हुँदैछन् । संस्कृति जगेर्ना गर्ने नेवारहरु धमाधम विभिन्न ठाउँहरुमा पलायन भए पछि अहिले भएका इनेगिने नेवारहरुले पहिलेका संस्कृतिको जर्गेना गर्न सकिरहेका छैनन् । अग्रजहरुको निधन युवा पुस्ताहरुको आफ्नो संस्कृति प्रति चासो नभएको तथा स्थानीय सरकारको उदासिनताले गर्दा कसरी सांस्कृतिक पक्ष सबल हुन सक्छ यो सम्बन्धित निकायलाई नै थाहा होला । पाल्पा भन्ने वित्तिकै तानसेन मात्र हो भन्ने बुझाइ छ पर्यटकहरुको । सेरोफेरोसंग उनीहरुको खास मतलब हँुदैन । त्यसो त सेरोफेरोको पर्यटकिय गन्तव्यको पनि व्यापक प्रचार प्रसारका साथै सहज र सरल यातायातको सुविधा, खाने बस्नेको व्यबस्था आदि भए अवश्य पनि पर्यटकहरु त्यहाँ पुग्ने थिए । तर यो हुन सकेको छैन । त्यसैले तानसेन बजारका एक दुई ठाउँ घुमे पछि सकिन्छ उनीहरुको भ्रमण । सेरोफेरोको मतलब हुँदैन । तानसेनमा दुई/तीन घण्टा विताउने गन्तव्य पनि नभएकाले या त बुटवल या पोखरा हानिन्छन् पर्यटक । तानसेनमा उनीहरुले हेर्ने भनेको टुडिखेलको ठूलो करुवा, शितलपाटी, मूलढोका, गोरख बाटिका, तानसेन दरबार अनि सकियो । कोही कोही मात्र श्रीनगरडाँडा चढछन् सबै जााँदैनन् । श्रीनगरमा चढे पनि केही पाउँदैनन् केवल एउटा भ्यूटावर त्यति हो । यस्ता डाँडाहरु जता पनि छन् हिमाल हेर्ने हो भने तानसेनबाट भन्दा पनि पोखरा तिरबाट अझ नजिक देखिन्छ भन्छन् । अनि के देखाएर भुलाउने उनीहरुलाई । यही अशोज २४ गतेको नवजनचेतना राष्ट्रिय पत्रिकामा होटल व्यवसायमा समस्या शिर्षकमा व्यवसायीहरुको वास्तविकता देखाएको छ । लाखौ लगानी गरेर बनेका स्तरिय होटलहरु पर्यटकहरुको अभावले पलायनको स्थितिमा रहेका छन् । करिव चार हजार बढी व्यापार व्यवसाय गर्नेहरु, करिब ८० वटा साना ठूला होटल व्यवसायीहरु निरास छन्, अधिकांश व्यवसाय टाट पल्टने स्थितिमा रहेको उद्योग बाणिज्य संघका अध्यक्षको भनाइ छ । कति व्यवसायी अन्य विकल्पको खोजीमा रहेको भनाइ छ । खर्चसम्म धान्न नसक्ने स्थिति रहेको संघका पूर्ब अध्यक्षको चिन्ता छ ।

सिद्धबाबाको जोखिमपूर्ण बाटोको कारण पनि कति पर्यटकहरु यो बाटो आउन मान्दैनन् । सुरुंग बाटो नेताहरुको चुनावी एजेण्डा बनेको छ तर कहिले बन्ने हो शायद उनीहरुलाई नै थाहा छैन । धेरै जसो नजिकैका भारतीय पर्यटकहरु आए पनि तानसेन नपसी सिधै पोखरा जाने गरेको बताइन्छ । कारण तानसेनमा हेर्न कुरा केही छैन, भुल्ने बाटो छैन उनीहरुको सोचाइ छ अनि कसरी पर्यटन प्रवद्र्धन हुन्छ । पर्यटकहरुलाई आकर्षित गर्न प्राकृतिक संरचना नभए पनि थुप्रै कृतिम संरचनाहरु निर्माण गरी हजारौ आन्तरिक पर्यटकहरुलाई दिनभरि भुलाउन सक्षम भएका छन् कतिपय जिल्लाहरु । उदाहरणको लागि रुपन्देही जिल्लालाई नै लिए पुग्छ । केही थिएन त्यहाँ हेर्नलाई अहिले धेरै कुराहरु छन् । त्यहाँ एकदिनमा हेरेर सकिदैन । पोखरा त्यस्तै छ थुप्रै संरचनाहरु हेर्न पनि थुपै्र दिन लाग्ने । तर तानसेनले यस्ता कृतिम संरचनाहरु पनि बनाउन सकेको छैन । अनि के देखाएर तानसेनमा पर्यटकहरुको बसाइ गराउने । भएका संरचनाहरु पनि यसो एक दुइ घण्टामा नै सकिन्छ घुमाई अनि के गर्ने । अहिले देखाउने भनेको त्यही एउटा रानीमहल हो । काली गण्डकीको किनारमा रहेको सुन्दर दरवार तर त्यसबेला प्रयोगमा आएका सामाग्रीहरु केही छैन । त्यहाँ पुग्ने कतिपय पर्यटकहरुले दरबार मात्र रहेछ अरु केही रहेनछ भन्ने गुनासो पनि सुन्नमा नआएको हैन । तैपनि रानीमहल पुगिरहेका छन । धामिक पर्यटकहरुको लागि पाल्पा भैरव र ऋषिकेश मन्दिरसम्म पुग्न यातायातको सुविधा छ । सिद्धबाबा मन्दिर सिद्धार्थ राजमार्गको बाटैमा पर्ने भएकाले जान सक्छन, रम्भादेवी मन्दिर जान बाटोको कारण त्यति सहज छैन, सत्यावती मेला लाग्ने वर्षको एक पटक मात्र हो त्यो पनि डाँडाको टुप्पामा भएकाले त्यहाँ पुग्न त्यति सहज छैन । अन्य कतिपय पर्यटकिय गन्तव्य ओझलमा नै छन् । सरल र सहज यातायातको असुविधाका कारणले पनि पर्यटकहरु ति गन्तव्य तिर जान सकिरहेका छैनन् ।

त्यसो त भ्रमणमा आउनेहरु निश्चित सेडयूल बनाएर मात्र आउँछन् । त्यसमा पनि उनीहरु घुम्ने ठाउँहरु बारे जानकारी लिएर मात्र । तर तानसेन बारे जानकारी गराउने कुनै ब्रसर, पम्पलेट लिफ्लेट आदि केही छैन अनि के हेर्छन, के थाहा पाउँछन् तानसेन आएर । बनाउने प्रयास पनि कतै बाट भएन । त्यस्ता जानकारी मूलक सामाग्रीहरु यहाँ आउने हरेक पर्यटकहरुको हात हातमा पुर्‍याउन सके उनीहरुबाट अरु ले पनि पाल्पा बारे थाहा पाउन सक्छ । यति मात्र नभै नजिकैका जिल्लाहरुमा पनि व्यापक रुपमा यसको वितरण हुनु पर्दछ । यो त प्रचार–प्रसारको माध्यम हो । बोल्नेको पीठो विक्छ भन्ने उखानै छ । तर पहिलो प्राथमिकता भनेको पाल्पा आए पछि हेर्ने संरचनाहरु धेरै हुनु पर्‍यो । कमसेकम एक दुईदिनसम्म भए पनि बसाइको गन्तव्य हुनु आवश्यक छ । तब मात्र पर्यटनको नारा सार्थक हुन सक्छ । नत्र पर्यटन पर्यटन भन्दै नारा मात्र लगाउने तर पर्यटकिय गन्तव्य केही नहुने हो भने जसरी पहिलेदेखि चल्दै आएको छ त्यसरी नै चल्दै गर्छ कसैलाई त्यसप्रति वास्ता हँुुदैन अनि सबैले भन्छन् यस्तै हो पाल्पाको पर्यटन । अस्तु !

(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update