Shittalpati
काँग्रेस घोषणापत्रको सार्थकता

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिहेका छन् । नेपाली काँग्रेसले पनि आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ । कुनै पनि दल र उम्मेदवारले आफुले जितेपछि के–के गर्ने भन्ने कुराको योजना घोषणा पत्रमा उल्लेख गर्ने गर्दछन् । सरकार बनाउने अभिलाषा पनि चुनावमै व्यक्त हुने हुनाले आफ्नो दलको सरकार बनेमा विकास–निर्माणका के–के काम गर्ने भन्ने फेहरिस्तमार्फत जनतालाई सुनाउनु स्वाभाविक हो । मतदातालाई निर्वाचनमा विजयी भएमा गर्ने प्रतिबद्धता नै घोषणापत्र हुन् । लोकतान्त्रिक प्रणालीमा यसको अत्यन्त महत्व छ । हरेकजसो राजनीतिक दलले मतदातासमक्ष यस्ता घोषणापत्र वा प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेकै हुन्छन् । तर घोषणापत्रको कार्यान्वयनमा भने अनेक प्रश्न उठ्ने गर्दछन् । घोषणापत्रहरूमा दलहरूको विधायिकी अनिवार्य भूमिका र सरकार बनाउन पाएका खण्डमा लागू गराउने झिनो र ससर्त सम्भावनाहरूलाई एकै ठाउँमा तिल–चामलले रंगमा छ्यासमिस पारेर प्रस्तुत गर्ने गरिएको छ । यो अत्यन्त दुःखको कुरा हो ।

प्रायः सबै राजनीतिक दलको मुख्य उद्देश्य नै समृद्धि र विकास नै हो । तर वास्तविकता र यथार्थमा भने निकै भिन्नता रहेको छ । मतदाताको चाहना विगत नदोहोरियोस् भन्ने हो । नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा मुलुकको राजनीतिक व्यवस्थालाई सुदृढीकरणका निम्ति संसद्लाई पूर्ण अवधि सञ्चालन गर्ने प्रतिवद्धता गरेको छ । यसैगरी अर्थतन्त्रलाई रूपान्तरणकारी बनाउने, रोजगारी विस्तार, संघीयता, वैदेशिक नीति, जलवायु परिवर्तन, भ्रष्टाचार, राष्ट्रिय प्राथमिकता प्राप्त योजना, मौद्रिक सुधार, स्वास्थ्य नीति, वन जङ्गल संरक्षणजस्ता विविध विषयवस्तुलाई विशेष प्राथमिकता दिएको छ । समग्रमा काँग्रेसको घोषणापत्र आमनिर्वाचनमा विजयी भएमा गर्ने प्रतिवद्धताको फेहरिस्तका रूपमा लिन सकिन्छ । आमनागरिकका हरेक विषयवस्तुलाई उल्लेख गर्नु काँग्रेसको घोषणपत्र विशेषता भए पनि निर्वाचनपश्चात् ती विषयवस्तुको कार्यान्वयन के कसरी हुन्छ ? यो भने अत्यन्तै महत्वपूर्ण विषय हो । आममतदाताको चिन्ता र चासो पनि यही हो । हालसम्म नेपाली जनताले विभिन्न राजनीतिक दलका घोषणापत्रको अध्ययन गरेका छन् तर कार्यान्वयनका दिशामा ती साह्रै फितला भएका तीतो भोगाइ छ । यसर्थ काँग्रेसले आफ्नो घोषणापत्रलाई कार्यान्वयनको दिशामा लैजान सके मात्र घोषणापत्रको सार्थकता रहने छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update