Shittalpati
उपभोक्ता सचेत बनौं

पछिल्लो समयमा कृषिजन्य वस्तुहरुमा अत्याधिक मात्रमा विषादी प्रयोग हुने गरेको पाइएको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अत्याधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी र फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् । जसको असर मानव स्वास्थ्यमा देखिएको छ ।

उपभोग गर्ने उपभोक्ताले प्रत्येक गाँसमा विषादी सेवन गरिरहेका छन् । तर उनीहरुलाई विषादी सेवन गरेको पत्तै छैनन् । विषादी भनेको विष हो, औषधि होइन । त्यसैले तरकारी तथा फलफूल खरिद गर्दा उपभोक्ता सजग हुुनुपर्छ । यद्यपि, बजारमा आएका तरकारी, फलफूललाई आँखाले हेरेर विषादी छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिँदैन । विषादी पत्ता लगाउने विधि छ । बजारमा रहेकामध्ये केही तरकारी, फलफूलमा किरा लागेको छ, ताजा देखिएको छैन भने त्यस्तामा विषादीको मात्रा कम रहेछ भन्ने बुझ्नुपर्छ । तरकारी पकाउनुभन्दा अगाडि मज्जाले पखाल्नुपर्छ । जसले गर्दा ६० प्रतिशतसम्म विषादी पखालिएर जान्छ । सतप्रतिशत विषादी फाल्नु छ भने बाहिरको बोक्रा फालेर खाने बानी बसालौं । उपभोक्ताले यि र यस्ता कुराहरुमा ध्यान दिन आवश्यक छ ।

खेतबारीमा रोगकीराको प्रकोप बढेसँगै रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । किसानहरुले उत्पादन बढाउनका लागि विषादी प्रयोग बढी गर्दछन् । जसको दुष्परिणाम उनीहरू स्वयंदेखि उपभोक्तासम्मले नै भोग्नुपरेको छ । विषादी छरेको केही दिनसम्म तरकारी टिप्न नहुने भए पनि सबै किसानले यो नियम पालना गर्दैनन् । बजारमा माग बढी र आपूर्ति कम भएकै बेला आफ्नो उत्पादन बिक्री गर्न सकेमा धेरै पैसा पाइने लोभले कतिपय किसानले जानीजानी उपभोक्तासम्म विष पु¥याइरहेका छन् । यसो गर्नु गलत हो । मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको विषादी प्रयोगमा भइरहेको यो लापरवाही रोकिनुपर्छ । सरकारले किसानका लागि विषादी प्रयोगको विकल्प दिनुपर्छ । उपभोक्ता पनि विषादी प्रयोगप्रति सचेत बन्नै पर्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update