Shittalpati
एमाले महाधिवेशनको चटारो

नेकपा एमाले यतिखेर १० औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै एमालेले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर एमालेले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ । असार महिना किसानहरूका लागि जति व्यस्तताको महिना हुन्छ त्यो भन्दा बढी एमालेलाई महाधिवेशनको व्यस्तता छ । महाधिवेशन पार्टीको नीति, सिद्धान्त, कार्यक्रममा बहस र छलफल चलाउने, तिनलाई परिष्कृत र परिमार्जन गरेर लैजाने, सांगठनिक स्वरूप र संरचनालाई समयानुकूल ढाल्दै लैजाने र योग्यतम नेतृत्व छनौट गर्ने स्वर्णिम अवसर हो ।

एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको तयारी जोडतोडका साथमा अघि बढाइरहेको छ । एमालेको नयाँ नेतृत्व चयनका निम्ति यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुन लागेको हो । एमालेको राष्ट्रिय महाधिवेशन लगभग अन्तिम चरणमा पुगेको अवस्थामा पहिल्यैदेखि नै एकल उम्मेदवारका रुपमा चर्चामा आएका एमालेका अध्यक्ष ओलीले अब प्रतिस्पर्धासमेत व्यहोर्नुपर्ने भएको छ । एमालेका उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेर आफू पनि अध्यक्षको उम्मेदवार रहेको भन्दै ओलीलाई अहिले चुनौती दिएका छन्, जसले ओलीलाई निर्विकल्प बन्ने अवसर दिने छैन । एकअर्कामा प्रतिस्पर्धा लोकतान्त्रिक मूल्यमान्यताकै हिस्सा हो । दलमा एकल विजेता घोषणा हुने अवस्थाले अधिनायकवादलाई नै प्रश्रय दिने हुनाले एमाले पनि लोकतान्त्रिक पद्दतिलाई विश्वास गर्ने पार्टी हो भनेर प्रमाणित गर्ने अवसर पनि अहिले यतिखेर प्राप्त भएको छ । यसकारण पनि भीम रावलको उम्मेद्वारीलाई स्वागतयोग्य कदमका रुपमा लिइनुपर्छ । कम्युनिस्ट पार्टीका महाधिवेशनमा पार्टीले अंगीकार गर्ने सिद्धान्त, राजनीतिक कार्यदिशा र कार्यक्रम सबैभन्दा महत्वपूर्ण हुन्छन् । जस्तो, एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद, जसले नेपाली राजनीतिमै महत्वपूर्ण बहस सिर्जना गरेको थियो । र, त्यो बहस अझै जारी छ । हुन त समयमै अधिवेशन हुनु र पार्टीलाई कानुनसम्मत ढङ्गले अपडेट बनाएर राख्नु आवश्यक थियो । त्यही कार्य भइरहेको छ यो सकारात्मक कुरा हो । एमालेले अबको अधिवेशनबाट पार्टीलाई रचनात्मक र सशक्त बनाएर लैजान जरुरी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update