Shittalpati
पाल्पा काँग्रेस र अबको बाटो

पदम न्यौपाने
अहिले नेपाली काँग्रेस महाधिवेशनका लागि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशको अधिवेशनको तयारीमा छ । सबै क्रियाशिल कार्यकर्ताहरु सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि प्रारम्भिक तयारीमा जुटेका छन् । नेपाली काँग्रेस बिपीको विचारले निर्देशित पार्टी हो । बिपीको विचार र सिद्धान्त भनेको नेपालमा रहेका लाखौं नेपालीको दयनिय आर्थिक र सामाजिक अवस्थालाई सुधार गरी सक्षम र सवल बनाउने पद्दतीको विकासका लागि हो । राजनीति गरेर पदमा पुग्ने र सुखसयलमा आफ्नो जीवन विताउने लक्ष्य होइन ।

पद र सत्ता एउटा माध्यम हो । लक्ष्य त पहुँच नपुगेका र कमजोर आर्थिक अवस्था भएकालाई सक्षम र सबल बनाउने हो । यही पृष्ठभूमिमा रहेर बिपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवाद वर्तमान नेपालको लक्ष्य रहेको छ । तर जब सविधानले यसलाई नेपालको लक्ष्यका रुपमा शंकल्प गर्‍यो तब नेपाली काँग्रेस कमजोर देखियो । यद्यपी काग्रेसको लक्ष्य नै यही हो । यहीनेर नै समस्या छ किनकी काँग्रेस र यसका कार्यकर्ता यस पद्दती वा लक्ष्यको बारेमा आफूलाई अब्बल सावित गर्न सकेनन् वा कमजोर बने र अहिले काँग्रेस प्रतिपक्षमा पनि दयनीय अवस्थाको प्रतिपक्ष बन्न पुगेको छ । यसलाइ स्विकार गर्नै पर्दछ र गहन आत्मसमिक्षा गर्नै पर्दछ । यो सैद्धान्तिक पक्ष मात्र होइन व्यवहारिक पनि हो । यसर्थ समाजका तल्लो तहका कार्यकर्ताले पनि यस पक्षमा विचार गर्नै पर्दछ । यो विचार गर्ने समय पनि हो किनकी काँग्रेसले अबको नेतृत्वका लागि समुदायदेखि नै नेतृत्व र सिद्धान्तका लागि अधिवेशन प्रारम्भ गर्दैछ । यसर्थ यही सेरोफेरोमा केन्द्रित रहेर यहाँ पाल्पाको नेपाली काँग्रेस र यसको अबको बाटोका विषयमा चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।

काँग्रेसका क्रियाशिल कार्यकर्ताहरु आ–आफ्नो तहमा नेतृत्व प्राप्तिका लागि सक्रिय देखिन्छन र चासो व्यक्त गर्न थालेका छन् । यस्तो चासो र सक्रियता हुनुपनि पर्दछ । तर यो सक्रियतामा आ–आफ्नो विचार र अवधारणा अनि मुल लक्ष्यका साथ हुन सक्यो भने बल्ल काँग्रेस जरैदेखि मजबुत र सिद्धान्ततः बलियो बन्न सक्छ । जिल्ला नेतृत्वका लागि चाहाना राख्नेहरुको बारेमा प्रदेश वा संघको सांसदको लागि सबल र सक्षम भन्ने बारेमा मत जाहेर गर्ने पद्दतीको विकास हुन थाल्दछ । यहि प्रयत्न र पहलबाट मात्र केन्द्रिय नेतृत्व चयन गर्ने सोचले प्रतिनिधि चयन गर्ने छ । यही चयनले केन्द्रिय नेतृत्वको विचार र सिद्धान्त स्थापित गर्ने हुन्छ । काँग्रेसले विपिको आदर्श र पद्दतीलाई बलियो सँग अवलम्वन गर्ने संरचना बनाउने छ । यसले काँग्रेस वडा देखिनै नेतृत्व, विचार र सिद्धान्तमा सवल र सक्षम हुने छ । काँग्रेसमा अहिलेको आवश्यकता पनि यही हो । यो पद्दतीको आवश्यकता पाल्पामा झनै आवश्यक भइसकेको छ । किनकी पाल्पा नेपालको लोकतान्त्रिक आन्दोलनको एक अग्रिणी जिल्ला हो । राणाशासनको अन्त्यका लागि राजधानी बनाउन प्रस्ताव गरिएको जिल्ला पनि हो । यति मात्र होइन पाल्पाले पश्चिम नेपालमा शिक्षाको विस्तारमा योगदान गरेको जिल्ला पनि हो । सायद यसैले हुन सक्छ राजनीतिमा नेतृत्वको विकासमा कम भूमिका निर्वाह गरे पनि पाल्पाले नेपालका लागि आवश्यक जनशक्ति आपूर्तिमा दशकौंसम्म महत्वपूर्ण योगदान गर्न सक्यो । पञ्चायतको अन्त्य पश्च्यातको निर्वाचनमा काँग्रेसकै प्रतिनिधिहरुलाइ विजयी गराएको इतिहास पनि छ । तर त्यसपश्चातका आम निर्वाचनमा काँग्रेस कमजोर बन्दै गयो र अब त निकै कमजोर देखिन्छ । यसमा पनि जिल्लामा विचार सिद्धान्त र शंकल्पलाई तिलाञ्जली दिई व्यक्तिगत मनोकाँक्षामा केन्द्रीत हुँदै गएको देखिन्छ । गुटउपगुट स्थानीय मात्र होइन केन्द्रिय प्रभाव समेतले जरो गाडी सकेको छ । यही अवस्था रहि रहने हो भने अब हरेक क्षेत्रमा प्रतिनिधित्व शून्य हँुदै जाने मात्र होइन संगठन पनि क्षीण र जीर्ण बन्ने निश्चित छ । यस्तो अवस्थामा हरेक कार्यकर्ताले बिपीले भने जस्तै राजनीतिलाई शंकल्पित
भई पद्दतीको स्थापनामा ध्यान नदिने हो भने पार्टीमा विचार शून्य र सुकिलामुकीलाहरुको हाली मुहाली बढ्ने छ र नेपाली जनताबाट टाढा हँुदै जानुपर्ने छ भन्ने भनाई प्रमाणीत हुनेछ ।

बिपीको जीवन दर्शनको मान्यता सत्ता होईन जनता हो भन्ने हो । यसको मतलव समाजको तत्लो अंगको सवलताले मात्र संगठन वा राज्य सवल बन्न सक्छ । अब जिल्लाका हरेक क्रियाशिल कार्यकर्तामा यही शंकल्प र दर्शन हुनु पर्दछ र यसै उन्मुख आफ्ना राजनीतिक गतिविधि हुनु पर्दछ । यसबाट काँग्रेस कार्यकर्ता नेतामा नयाँ जोश उम· र सफलता प्राप्त हुने छ । यो कार्यान्वयनमा ल्याउन सकियो भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरिमामय अध्याय बोकेको पाल्पा पुनःप्रजातान्त्रिक वा लोकतान्त्रिक भविष्य उज्वल बन्ने छ । यस प्रक्रियामा जिल्लाका नेतृत्वतह सम्हालेका, सम्हाली सकेका र सम्हाल्न कम्मर कसेका जो कोहीमा पनि एकता, सद्भावको संकल्प र प्रतिवद्धताको नयाँ अध्याय प्रारम्भ हुने छ । आपसी मनमुटाव, व्यक्तिवादी सोच र लगाव अनि साना–साना गुट उपगुटबाट मुक्ति मिल्ने छ । एक अर्काप्रतिको अनावश्यक टिकाटिप्पणीमा कमी आउने छ । यस्तो अवस्थाले हरेकको राजनीतिक भविष्य सबल देखिने छ । यसबाट छुटकारा पाउन पार्टीका विभिन्न संयन्त्र र स्थानीय, प्रदेश तथा केन्द्रिय सत्तामा जान र रहन चाहानेहरुबाट आफ्नो अवधारणा सबै कार्यकतामाझ सार्वजनिक गर्ने, बहस गर्ने परिपाटीको विकास गरेर उपयुक्तलाई नेतृत्वमा लैजाने व्यवस्थाको प्रारम्भ गर्न आवश्यक छ । यस पद्दतीको प्रारम्भका लागि वडा तहको नेतृत्वबाटै आफ्नो संगठन रणनीति र शैली, स्थानीय तहसँगको समन्वय र परिचालन रणनीति, आफ्नो वडाको विकास सम्वन्धी अवधारणा, जिल्लासँगको समन्वय प्रणाली, स्थानीय मानव संशाधनको अभिलेखिकरण र परिचालन, सत्तामा हुँदा वा प्रतिपक्षमा रहँदा स्रोत र साधनको परिचालन रणनीति, कार्यकर्ता र वडाबासीसँग गरिने व्यवहार र परिचालन रणनीति एवंं विद्यमान अवस्थामा वडा तथा गापा, नपा कार्यालयले गरेका क्रियाकलापमा आफ्नो तर्फबाट अवलम्बन गरिने रणनीति जस्ता पक्षका बारेमा अहिले देखिनै आफ्नो अवधारणाका बारेमा छलफल गराउन सकिन्छ । यस्तै जिल्ला संगठनमा रहन चाहानेहरुले समेत यस्ता पक्षहरुका सन्दर्भमा आफ्ना धारणा बनाई बहसमा ल्याउन सक्नु पर्दछ । प्रदेश र केन्द्रिय नेतृत्वका लागि चाहाना राख्नेहरुले समेत यस प्रक्रियामा सामेल हुन सक्नु पर्दछ । हरेक कार्यकर्ता माझ स्थानीय र केन्द्रिय नेतृत्व चयनका सन्दर्भमा आफ्ना धारणाहरु बहसमा ल्याउन सक्नु पर्दछ । यसले पारदर्शी र विश्वास योग्य बनाउने छ । यसैबाट हरेकले विचार र योगदान सहित मूल्याकंन गरी को कसलाई के जिम्मेवारीका लागि तयार पार्ने भन्ने बारेमा हरेक कार्यकर्ताले आफ्नो धारणा बनाई सोही अनुरुपका लागि नेतृत्व चयन गर्न सक्ने अवस्था बन्ने छ । यो पद्धती र प्रक्रियाले आफ्नो भूमिका र दायित्व वेगर नेतृत्वका लागि चाहाना राख्नेहरुलाई थप सिर्जनशिल र रणनीतिक बन्न मद्दत गर्ने छ । यति मात्र होइन संगठनमा को बस्ने र को कुन जिम्मेवारीका लागि आजैदेखि क्रियाशिल हुने भन्ने सन्दर्भमा तलैदेखि तयारीमा लाग्न हरेकलाई उत्प्रेरित गर्ने छ । आपसी मनमुटाव, द्वोष र कलह समाप्त भएर जानेछ । गुट उपगुटमा विभाजित मानसिकता मेटिएर जाने छ । एकता र सद्भाव कायम भई सुदृढ र सवल संगठन संरचना तयार हुने छ । जिम्मेवारी, कर्तव्य र उत्तरदायित्व बढेर जानेछ । समन्वय र सहयोगमा बढोत्तरी आउने छ । साझा सवालमा सवल आवाज तयार हुने छ । दह्रो संयन्त्र तयार हुने छ । यसबाट काममा प्रभावकारीता देखिने छ । हरेक कार्यकर्तामा आत्मविश्वास बढेर जाने छ । जिल्लामा आफ्नो पुरानो शाख स्थापित हुने छ । बिग्रदै गएको परिपाटीको अनुयाही बनेर समय बर्बाद गर्नु भन्दा सिर्जनशिल र प्रभावकारी संगठन र विचारको पृष्ठपोषक बन्न मद्दत पुग्ने छ । परिवर्तन, सुशासन र रचनात्मकतामा आफ्नो भूमिका र योगदान प्रदर्शन गर्ने मौका मिल्ने छ । अन्यलाई दोष दिएर हिड्ने परम्परामा सुधार आउनेछ । बिपीको विचारलाई व्यवहारमा परिणत गर्न थप बल प्राप्त हुने छ । एउटा असल विचारको पद चापलाई पछ्याँउदाको प्राप्त हुने सम्मानले गौरवान्वित बनाउने छ । पुराना नयाँ कार्यकर्ताको संयोजन हुने छ । सम्मानको संस्कार विकास हुने छ । बस्तीस्तरदेखि केन्द्रिय तहसम्मका घटना परिघटनाबाट तत्काल सु–सूचित हुने र तत् स्थानमा सोको प्रयोग हुने संयन्त्रलाई यस कार्यप्रणालीले मद्दत पुग्ने छ । नेता र कार्यकर्ताबिचको दोहोरो संवाद प्रणालीको विकास गर्नु पर्ने आजको आवश्कतालाई मद्दत पुग्ने छ । जसबाट सिगों संगठनमा चुस्ताता देखापर्नेछ । हालै काँग्रेसले बिपीको पूण्य तिथि मनाएको छ । यही अवसरमा हरेक कार्यकर्ताहरुले संकल्प लिनुपर्ने छ की बिपीले देखेको प्रभावकारी, जन उत्तरदायी र सुदृढ संगठनका आधार भनेको समाजको तल्लो तहको सवलता हो भन्ने मान्यतालाई स्थापित गर्न मद्दत मिल्ने छ ।

अन्त्यमा, हामीले हरेक राजनीतिक परिवर्तनको पछाडी व्यवहारिक रुपान्तरणको खोजी गरिरहेका हुन्छौं तर हाम्रो व्यहार र संस्कारमा रुपान्तरण ल्याउन सकेका छैनौं । यही व्यवहारिक रुपान्तरको लागि हामी आफैबाट यो प्रारम्भ नभै कही कतैबाट यो सम्भव छैन । हाम्रो आचरण र व्यवहारमा परिवर्तन गर्न सक्यौं भने मात्र हामी बिच सहमती, सद्भाव र एकताका लागि बाटो खुल्ने छ । नयाँ विचार, नयाँ आचारणले मात्र बिपीको चिन्तनलाई आत्मसाथ गर्न सक्छौं । यसर्थ हरेको संकल्प र प्रतिवद्धता
हुनु पर्दछ की म बिपीले देखेको प्रजातान्त्रिक समाजवाद उन्मुख नेपालमा एउटा मान्यता स्थापित गर्न सक्छु  । यसर्थ हामी हरेकको संकल्प होस् म मेरो हरेक क्रियाकलापमा नविनता ल्याउनेछु ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update