Shittalpati
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो

नेपाली काँग्रेसको बारेमा यतिबेला आन्तरिक र बाÞय रुपमा राजनैतिक हलचल उत्पन्न भइरहेको नेपालको राजनैतिक रंगशालामा ऐतिहासिक जिम्मेवारी बोकेको नेपाली काँग्रेस जस्तो दलको बारेमा विभिन्न टिका टिप्पणी हुनु लोकतन्त्रमा स्वभाविकै मान्न सकिन्छ । नेपालको राजनैतिक इतिहासमा धेरै संघर्ष गर्दै आएको पार्टी नेपाली काँग्रेसको जन्म २००३ सालमा स्थापना भएको हो । २००४ सालमा नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना भयो । नेपालमा १०४ वर्षे जहानिय राणा शासन फ्याक्नका लागि २००६ साल चैत्र २७ गते कलकत्ताको टाइगर सिनेमा हलमा दुई काँग्रेस अर्थात नेपाली काँग्रेस र प्रजातन्त्र काँग्रेस एकआपसमा विलय भई नेपाली काँग्रेसको जन्म भएको हो । अहिले नेपाली काँग्रेस इतिहासमै कमजोर भएको हो कि भन्ने सबैलाई लाग्नु स्वभाविकै हो । यतिबेला नेपाली काँग्रेसका बारेमा सबैले समिक्षा गरी अबको बाटो के हुन सक्छ भनेर छलफल चलाउनु आवश्यक हुनेछ । नेपाली काँग्रेसले पटक–पटक सरकार गठन गर्न सफल त भयो तर उसले विभिन्न निर्वाचनमा हालसम्म प्राप्त गरेको मत कति हो र वर्तमान अवस्थामा नेपाली काँग्रेस हालको स्थितिमा पुग्नु पर्ने कारण के हो ? यस्ता कुरामा खोजतलास गर्नु पर्ने आजको आवश्यकता रहेको छ । यसर्थ नेपाली काँग्रेसको समिक्षा र अबको बाटोका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

२०७७ साल फागुन महिनाको पहिलो हप्ता नेपाली काँग्रेसको चौधौं महाधिवेशन हुने निश्चित कोरोनाको कारणले देखिन्न । तर पनि काँग्रेसको विधानको धारा ३४ (२) मा उल्लेख भए अनुसार करिब पाँच लाख क्रियाशील सदस्यहरुले उनीहरुको क्रियाशील सदस्यता नविकरण गर्नु अघि नेपाली काँग्रेसको बारेमा अनिवार्य आधारभूत प्रशिक्षण लिनु पर्ने व्यस्था छ । नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका पाँच लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिनका लागि २ सय वटा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुदेखि सबै तहका कार्यकर्ताहरुले बुझ्नै पर्ने कुरा के हो ? भने विगतमा हामी कहाँ थियौ ? वर्तमान अवस्थामा हामी कहाँ छौं ? अब हाम्रो रणनिति, नीति, कार्यक्रम र योजना के हुने ? आगामी दिनमा हामी कहाँ पुग्ने हो ? यस्ता प्रश्नको जवाफ खोज्न जरुरी हुन्छ । काँग्रेसको धरातल के हो यसबारे पनि थाहा पाउनु पर्छ । विपी कोइरालाको पिताजी कृष्ण प्रसाद कोइरालाले पहाडबाट भारी बोक्न झरेको ढाक्रेसँग उसले लगाएको फाटेको मैलो कपडा मागेर प्रधानमन्त्री चन्द्र शम्सेरलाई बर्कोमा पोको पारी कोशेलीको रुपमा पठाए बापत महाभारतमा पाण्डपहरु जुवामा हारेर बनवास जान परे जस्तै कृष्णप्रसाद कोइरालाको सपरिवार निर्वासनमा जानुपर्ने अवस्था आएको काँग्रेसले बिर्सन सक्दैन । नेताहरुले नेपाली काँग्रेसको वास्तविक धरातल भनेको भारी बोक्नेको, हलो जोत्नेको र हुँदा खानेको लागि स्थापना भएको पार्टी हो भन्ने बिर्सनु हँुदैन थियो । कतै हाम्रा नेताहरुले पनि आफ्नो वास्तविक धरातल भन्दा बाहिर गएर बाटो बिराएका छन् की भनेर चासो राख्नु पर्ने हुन्छ । म राष्ट्रिय जागरणको पहिलो चरणमा पाल्पा जिल्ला गएको बेला नेपाली काँग्रेस पाल्पाले आफुलाई बदल्नका लागि ‘निर्वाचन पछिको अवस्था सांगठनिक चुस्तता, कम्युनिष्ट अतिवाद तोड्ने हाम्रो दृढता, नैतिकता सहितको पार्टी निर्माणमा प्रतिवद्धता’ भन्ने नारा बनाएको थियो । यसले पनि पार्टी भित्र अबको बाटो निर्माणका लागि समिक्षा गर्न मद्दत पुर्‍याउछ । नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुले थाहा पाउनुपर्ने विषय अहिले सम्मका निर्वाचनका मत परिणामहरु हुन् ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आएता पनि २०१६ साल देखि हाल सम्म संसदीय व्यवस्था अनुसार जम्मा सात आम निर्वाचनहरु भए । नेपाली काँग्रेसले २०१६ सालमा खसेको मत परिणाम मध्य ३७.२ प्रतिशत मत प्राप्त गरी दुई तिहाई बहुमतको सरकार गठन गरेको थियो । २०४८ सालको निर्वाचनमा पनि ३९.५ प्रतिशत मत कायम गरी स्पष्ट बहुमतको सरकार गठन गर्न सफल भएको थियो । त्यसैगरी २०५१ सालको मध्यावधि निर्वाचनमा ३४.५ प्रतिशत प्राप्त गरी दोस्रो दल बन्न सफल भएको थियो भने २०५६ सालमा नेपाली काँग्रेसले पाएको मत ३७.२ प्रतिशत प्राप्त गरी पुनःस्पष्ट बहुमत सहितको सरकार बनाउन सफल भएको थियो । दोस्रो जनान्दोलन पश्चात २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसको मत २२.७ प्रतिशत कायम गरी दोस्रो दलमा कायम भयो । यसैगरी २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा २९.८ प्रतिशत मत कायम गरी पहिलो ठूलो दल हुन सफल भयो । नेपाल संघीयतामा प्रवेश गरी सकेपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रसले सातवटै प्रदेशमा न राम्ररी हार बेहोर्न परेता पनि उसले पाएको मत परीणाम ३५.७ प्रतिशत हो । यसरी समीक्षात्मक दृष्टिकोणबाट हेर्ने हो भने २०१६ सालदेखि अहिले सम्म नेपाली काँग्रेसले ४० प्रतिशत मत भन्दा माथि प्राप्त गर्न सकेको देखिदैन । २०७४ सालको निर्वाचनमा नेकपाले प्राप्त गरेको मत परिणाम हेर्ने हो भने ४७.६ प्रतिशत देखिन्छ । अहिले सम्मको मत परीणामको समिक्षा गर्ने हो भने अन्य दलहरुको एकता नभएका कारण वा कम्युनिष्टको विभाजनले नेपाली काँग्रेसले पटक–पटक सरकार बनाउन सफल भएको देखिन्छ । नेपाली काँग्रेसको मत परिणाम २०६४ सालमा एकदमै खस्केर २२ प्रतिशतमा झरेको देखिन्छ तर पनि तत्कालिन माओवादी भन्दा सानो तत्कालिन एमाले भन्दा ठूलो दलको रुपमा देखिन्छ तर २०७४ सालको निर्वाचनको मत परिणाम ३५ प्रतिशत प्राप्त भएर पनि सिट संख्याको हिसाबले निकै सानो दल बन्न गएको छ । यसको कारण एमाले र एमाओवादीको एकीकरण नै हो भने केहि हदसम्म आन्तरिक कलहको कारण पनि हो । मत परिणामलाई अध्यन गर्दा नेपाली काँग्रेसले आगामी निर्वाचन आफ्नो पक्षमा पार्नका लागि १० देखि १२ प्रतिशत मत बढाउन संगठनलाई सुधार्नुपर्ने अति आवश्यक देखिन्छ । यसका लागि नेपाली काँग्रेसको सबल पक्षहरु र दुर्बल पक्षहरु के–के छन् ? तथा अवसर र चुनौतीहरु पनि के–के छन ? केलाउन पर्ने हुन्छ, जुन यसप्रकार छ ।
नेपाली काँग्रेसको दुर्बल पक्षहरु :
नेपाली काँग्रेसको ऐतिहासिक पक्ष धेरै राम्रो हुँदा हुदै पनि केहि दुर्बल पक्षहरु थाहा पाउँदा पार्टीलाई आगामी दिनमा सुधारिएर लैजाने मौका मिलने छ । पार्टी भित्र निरन्तर चलिरहने गुटबन्दी र व्यक्तिगत टकरावको कारणले नेपाली कांग्रेसलाई निकै कमजोर बनाउने होकी भन्ने डर कार्यकर्तामा हुनु स्वभाविकै हो । हुनत एउटा लोकतान्त्रिक पार्टी भित्र आन्तरिक गुट उपगुट हुनु स्वभाविक मानिन्छ तर पार्टीको हित विपरित हुने प्रवृति बढ्ने सम्भावना देखिन्छ । नेपाली काँग्रेस भित्र केन्द्रिकृत निर्णयको कारणले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र पार्टी भित्र सुशासनको कमी हुँदै गएको देखिन्छ पार्टी भित्र काम गर्ने र नगर्ने बीच मूल्यांकनको कमी छ भने नातावाद र कृपावाद बढ्दो अवस्थामा छ । अर्कोतिर पार्टी सञ्चालन गर्ने क्रममा स्पष्ट कार्यसूचीको अभाव देखिन्छ साथै नेताहरुमा सदाचार र एकार्कामा हार्दिकताको कमी हुँदै गइरहेको छ । जति मात्रामा नेपाली काँग्रेसको सैद्धान्तिक लोकप्रियता बढ्दै गईरहेको छ सोही अनुपातमा संगठन विस्तारमा गति लिन सकेको छैन ।
सबल पक्षहरु : 
नेपाली काँग्रेस पार्टीभित्र केहि दुर्बल पक्षहरु भएतापनि नेपालको सन्दर्भमा नेपाली काँग्रेस करिब करिब लोकतन्त्रको पर्यावाची शब्द भईसकेको छ । यो पार्टी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आफ्नो साख बढाउन सफल भइसकेको छ । नेपाली काँग्रेसको इतिहास नेपालको अन्य राजनैतिक दलको तुलनामा धेरै लामो अनुभव तथा संघर्षमय कथाहरु सहित चिरपरिचित छ । नेपाली काँग्रेसको विचारमा मात्रै सबैको अस्तित्व अटाउन सक्छ किनकी नेपाली काँग्रेस मात्रै यस्तो पार्टी हो, जसले विपक्ष प्रति पनि उदार भाव राख्दछ । नेपाली काँग्रेसलाई लामो समयसम्म निर्वाचन गराउने अनुभव पनि छ । नेपाली काँग्रेसको विधान निकै समानुपातिक र समावेसी तरिकाले बनेको छ । नेपाली काँग्रेसलाई समावेशी पार्टी भनेर चिन्न सकिन्छ । लोकतन्त्रको मर्म र भावना बुझ्नलाई ज्ञान र शिक्षाको आवश्यक हुन्छ ।
अवसरहरु :
अहिले काँग्रेस सत्तामा नभएता पनि बिभिन्न मुद्दा लिएर जनताको माझ जाने अवसर छ । यसलाई सबै काँग्रेसजनहरुले सदुपयोग गर्नुपर्छ । नेपालको संविधान २०७२ असोज ३ गते नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भएको हुँदा संविधान अनुसार सांगठनिक संरचना बनाउने अवसर हुन सक्छ । नेकपा सरकारले बोलेका कुराहरु पुरा गर्न नसकेका र यो सरकारले गरेका कमजोरीहरुलाई अवसरको रुपमा नेपाली जनता सामु सदुपयोग गर्न सकिन्छ । नेपाली काँग्रेस धेरै समय पछि सत्ताबाहिर रहेकाले राम्रो र असल प्रतिपक्ष बनेर देखाउने अवसर प्राप्त भएको छ । नेकपा सरकारलाई जनताले बुझ्ने भाषामा रचनात्मक सहयोग गरेर राजनैतिक संस्कार र सभ्यता नेकपालाई सिकाउने मौकाको रुपमा काँग्रेसले लिन सक्छ  ।
चुनौतिहरु :
जहाँ अवसर त्यहाँ चुनौती पनि अवश्य हुन्छ । यतिबेला नेपाली काँग्रेसको प्रभाव स्थानीय, प्रदेश र संघमा कम छ जसले गर्दा कार्यकर्तालाई टिकाई राख्न समस्या हुन सक्छ । धेरै वर्ष सत्तामा बसिरहेको बानिको कारणले अहिले राज्यको स्रोत साधन माथि पहुँच कम हुँदा कार्यकर्ता तथा नेतामा छटपटी हुन सक्ने सम्भावना आउन सक्छ । नेकपा सरकार र विपक्ष दलमा राजनैतिक संस्कार र अनुभवको कमी भएको कारण पनि नेपाली काँग्रेसमा थप चुनौती आउन सक्छ । नेपाली काँग्रेसमा युवा शक्तिको सहभागिता कम हुँदै गइरहेको छ । युवाहरु दिनप्रतिदिन बेरोजगार हुँदै गएकाले उनीहरुलाई पार्टीमा टिकाउन समस्या भइरहेको छ । केन्द्रदेखि तल्लो तह सम्म आपसी सम्बन्ध, सञ्चार र समन्वयको आभाव देखिन्छ ।
अबको बाटो :
काँग्रेसको अबको बाटो भनेको व्यवहारमा परिवर्तन र असल आचरणको अनुसरण हो । सोचमा सकारात्मक परिवर्तन आउनु पर्छ भने नकारात्मक कुरालाई हटाउनु पर्छ । अर्का माथि दोष थुपार्नु भन्दा मैले के गर्ने र के गरे भन्ने सम्झनु पर्छ । सिद्धान्तलाई प्रयोगमा ल्याउनु पर्छ भने समय अनुसार परिवर्तन भएका मुद्दाहरुलाई आत्मसात गर्नु पर्ने हुन्छ । एक अर्कामा हार्दिकतामा कमी नराख्ने, कसै प्रति पनि भेदभाव र छुवाछुतको व्यवहार देखाउनु हुँदैन । समानता मात्रले पुग्दैन समतामूलक मुलक समाजको निर्माणमा अगाडि बढ्नुपर्छ । काँग्रेस बन्नका लागि पहिला असल व्यक्तिको रुपमा आफुलाई समाजमा उभ्याउन सक्नु पर्छ तब मात्र असल काँग्रेस, असल पार्टी र सही अर्थमा असल समाजवादी बन्न सकिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । नेपाली काँग्रेस संकटबाट मुक्त हुनका लागि अबको बाटोः साथीलाई समाप्त पार्नका लागि आफु समाप्त हुन तयार हुने प्रवृति त्याग्नुपर्छ । निर्वाचनको अवधिमा मात्रै सक्रिय हुने तर अन्य समयमा संगठनलाई ध्यान नदिने चलनको अन्त्य गर्नु पर्दछ । निर्वाचनमा बोलिएका वाचाहरु नबिर्सने र पद मात्र लिन खोज्ने तर समयमा काम नदिने व्यक्तिलाई निरुत्साहित गर्नु पर्छ । पार्टीको भन्दा आफ्नै हितलाई जोड गर्ने नेतालाई कार्यकर्ताले समयमा चिनेर ठेगान लगाउनु पर्छ । नेताहरु पार्टीको नीति र दर्शनबाट निर्देशित हुनुपर्ने हुन्छ । नेपाली काँग्रेसका नेतृत्व वर्गहरु काँग्रेसका सदस्यहरु र मतदाताहरुबाट निर्देशित हुनुपर्छ । व्यक्तिगत टकरावको अन्त्य र पार्टीको गतिविधि विधानबाट सञ्चालित भएमा मात्रै पार्टी संकट मुक्त हुन सक्छ । नेपाली काँग्रेसका प्रतिनिधिहरु कुनैपनि प्रलोभनमा नपरी सही निर्णय दिन र लिन सकेमा संकटबाट बच्न सक्दछ ।
(लेखक नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update