Shittalpati
आज ‘पुसे पन्ध्र’ पर्व

रामचन्द्र रायमाझी
पाल्पा, देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरिएको तानसेनका जुद्धबहादुुर गाहाले बताए । उनले भने, ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, यसदिन सबै परिवार एकै ठाउँ बसेर रमाइलो गरिन्छ ।’ यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यता अनुरूप पाल्पा, गुल्मी लगायत देशैभरका बजार क्षेत्रमा बिहीबार तरुल किन्नेको घुइँचो लागेको थियो । नेपालका केही केही स्थानमा गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रुपमा ‘पुसे १५’ लाई लिने पनि गरिन्छ ।

यस दिन राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै मीठा मसिना परिकार खाएर रातभर जाग्राम बस्ने गरिन्छ । लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ । यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मसिनो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको छ । पुसे १५ मा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरिएको गुल्मी इस्माकी गोमा खत्री बताउँछिन् । यो पर्वमा विवाह भएर गएकी छोरीलाई पनि घरमा बोलाई भव्य रूपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । गुल्मी इस्माकै वीर मल्लले पहिलेको पुस्ताजस्तो गरी नयाँ पुस्ताले पुसे १५ नमनाएको बताउँछन् ।

पहिले पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस १५ मै पिक्नीक अर्थात् ‘वनभोज’ खाने गरिन्थ्यो । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत मल्लको भनाइ छ । पुस १५ मा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘वनभोज’ जाने र मीठामीठा खानेकुरा खाने चलन पनि विगतदेखि नै चल्दै आएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update