Shittalpati
शान्ति र विकासका लागि विज्ञान आवश्यक

शान्ति र विकास एक सिक्काका दुई पाटा जस्तै हुन् । जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ । शान्तिलाई नै विकासको जग मान्न सकिन्छ । शान्ति हुनका लागि सम्बन्धित राष्ट्रका सबै पक्षमा विकासको वातावरण बन्नु पर्छ । चाहे त्यो भौतिक विकास होस् चाहे त्यहाँका जनताको बौद्धिक वा प्राज्ञिक विकास होस् तिनैबाट नै शान्तिको सही अर्थ साकार हुन्छ ।  शान्तिले समाजमा स्थिरता र सुरक्षा कायम गर्छ, जसले विकासका लागि आधार तयार गर्छ । विकास भनेको अर्थिक, सामाजिक, सांस्कृतिक प्रगति हो । जब कुनै देशमा शान्ति हुन्छ, त्यहाँका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच हुन्छ, जसले विकासमा मद्दत गर्छ । विकासले पनि शान्तिलाई प्रोत्साहित गर्छ । जब मानिसलाई आर्थिक अवसर र सामाजिक सेवा उपलब्ध हुन्छन उनीहरूमा स्वतः सन्तोष र सन्तुष्टिको मिठो अनुभव हुन्छ । यसरी शान्ति र विकास एकअर्कालाई सुदृढ पार्छन् । शान्तिले मानिसलाई सुरक्षित महसुस गराउँछ भने विकासले मानिसको जीवनस्तरमा सुधार ल्याउँछ ।

समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ । यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न  हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज  पनि विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको पाइन्छ । पछिल्लो समय वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वका कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेका छन् । यसका लागि शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणका लागि विद्यालय तहबाटै पाठ्यक्रम निर्माण गर्नुपर्छ । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । अहिलेको आवश्यकता विज्ञानसहितको शान्ति शिक्षा हो । तसर्थ शान्ति शिक्षाका लागि विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिन सक्ने विज्ञानसहितको सशक्त पाठ्यक्रम बनाउने दिशामा सबैले सोच्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update