Shittalpati
पाल्पामा धान उत्पादनमा वृद्धि

रामपुर (पाल्पा), पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो । ‘उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा वृद्धि र यस वर्ष क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको छ’, उनले भने, ‘धान स्याहार्ने समयमा धान बालीलाई रोग किराले सताउँदा पनि उत्पादनमा सोचेभन्दा कम असर परेको छ ।’

गत वर्ष जिल्लामा आठ हजार दुई सय छ हेक्टर क्षेत्रफलमा ३१ हजार चार सय २८ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ । धानखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्नु, कृषि प्राविधिकले सिफारिस गरेका उन्नत जात तथा हाइब्रिड जातको बीउ प्रयोगजस्ता कारणले उत्पादन बढेको ज्ञानकेन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए । गत वर्षको उत्पादन हेरेर यस वर्ष दुई प्रतिशतले उत्पादन बढेको पाइएको छ । यहाँका कृषकले सावित्री, हाइब्रिड, साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुक्खा धान लगाउँदै आएका छन् ।

रैथाने जात भने पछिल्ला वर्षमा कमै लगाइन्छ । उत्पादन धेरै लिन कृषकले उन्नत जात लगाउने गरेका हुन् । धान लगाउने समयमा पर्याप्त वर्षा, नहर कुलोका संरचना पक्की बन्ने क्रम बढेकाले बाँझिएका जमिनमा धान लगाउने किसान बढेका छन् । धान स्याहार्न थ्रेसर मेसिन, रोप्ने बेला ट्र्याक्टरको सुविधाले खेती गर्न सजिलो भएपछि हिजो धान नलगाएर खाली राखिएका जमिनमा धान फलाउने क्रम जिल्लामा बढ्दो देखिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update