Shittalpati
लुम्बिनी प्रदेशमा एमाले पहिलो

पाल्पा,लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले प्रदेशमा पहिलो दल बनेको हो ।
एमालेले प्रत्यक्षमा १८ सिट र समानुपातिकबाट पनि ११ सिट हात पारेको छ । एमालेको यो प्रदेशमा २९ सिट भएको छ । कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरेर २७ सिट आफ्नो पक्षमा पारेको छ । माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी ९ सिट हात पारेको छ । त्यस्तै जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट गरेर ३ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा २ र समानुपातिकमा २ गरेर ४ सिट जितेको छ । लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ गरी ३ हात पारेको छ । राप्रपाले भने प्रत्यक्षमा २ र समानुपातिकमा २ सिट गरेर ४ सिट विजयी हासिल
गरेको छ ।
२०७४ सालको निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ २७ सिट जितेको एमाले १८ सिटमा खुम्चिए पनि पहिलो दल बनेको हो । २०७४ मा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको कांग्रेस गठबन्धनको सहयोगमा १७ सिटमा पुगेको छ । २०७४ मा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा १४ सिट जितेको माओवादी यस पटक कांग्रेससँगको गठबन्धनबाट ५ सिटमा खुम्चिएको छ । २०७४ को निर्वाचनबाट ५ दल लुम्बिनी प्रदेशसभामा छिरेका थिए । तर, यसपटक दलको संख्या बढेर ८
पुगेको छ ।
देशभरको मत परिणामलाई हेर्दा सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ । यसपटक कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पायो । एमालेले भने प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । यसकै आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिमाणले काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको हो । समानुपातिकतर्फ लोकप्रिय मत पाएर एमाले दोस्रो दल बन्यो । प्रतिनिधिसभामा कांग्रेसको ८९ सिट हुँदा एमालेको ७८ सिट तय भयो । जम्मा सदरमत १ करोड ५ लाख ६० हजार ८२ मा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ । कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ । उसले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट जितेको छ । माओवादी केन्द्रको समानुपातिकमा ११ लाख ७५ हजार ६ सय ८४ मत छ । प्रतिनिधिसभातर्फ पहिलो पटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेर चौथो ठूलो शक्तिका रूपमा उदाएको छ । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ । रास्वपाले समानुपातिकमा माओवादी केन्द्रकै हाराहारी मत ल्याएको छ । उसले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update