Shittalpati
बैंकहरुले निक्षेप बढाए

पाल्पा, बजारमा तरलता अभाव कायमै रहेका बेला केही बैंकहरुले भने निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १४ वटा बैंकहरुले कार्तिक महिनामा निक्षेप रकम बढाएका हुन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकले असोजको तुलनामा कार्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।

अहिले निक्षेप ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ । तर, यसको तुलनामा भने मंसिर पहिलो सातामै ५ अर्ब ४७ करोडले निक्षेप घट्दा कुल ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित हुन पुगेको संघले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा छ । कात्तिकमा मात्रै सानिमा र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी निक्षेप बढाउन सफल भएका छन् । सानिमा बैंकले एकै महिनामा ५ अर्ब ९० करोडले निक्षेप थपेर कुल १ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ पु¥याएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि एकै महिना ५ अर्ब ७६ करोडले निक्षेप वृद्धि गरेर २ खर्ब ६७ अर्ब १० करोड रुपैयाँ बनाएको छ । यसपछि तेस्रो स्थानमा नेपाल एसबीआई बैंकले निक्षेप बढाएको छ । यसको निक्षेप १ खर्ब ३१ अर्ब ७१ करोड रुपैयाँ छ । ३ अर्ब २२ करोडले निक्षेप वृद्धि गरेको सिद्धार्थ बैंकको कुल निक्षेप २ खर्ब १ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी सो महिना निक्षेप बढाएका बैंकको कुल निक्षेप क्रमशः नेपाल बैंकको १ खर्ब ९९ अर्ब, कृषि विकास बैंकको १ खर्ब ६६ अर्ब, बैंक अफ काठमाडौंको १ खर्ब ११ अर्ब, सिटिजन्सको १ खर्ब ५६ अर्ब, सिभिलको ९४ अर्ब, एभरेस्टको १ खर्ब ७५ अर्ब, हिमालयनको १ खर्ब ७४ अर्ब, कुमारीको १ खर्ब ७८ अर्ब, लक्ष्मीको १ खर्ब ४१ अर्ब, मेगाको १ खर्ब ५७ अर्ब नबिलको ३ खर्ब ४० अर्ब, एनएमबीको १ खर्ब ८४ अर्ब, स्ट्यान्डर्ड चार्टर्डको १ खर्ब १० अर्ब र सनराइज बैंकको १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update