Shittalpati
तराईबाट आएर पहाडमा खेती

सन्तोष महतारा (रासस)
रेसुङ्गा, पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् । कृषिमा नोक्सान देखेर पहाडमा खेतबारी बाँझो राखेर तराई झर्नेहरु बढिरहँदा तराईका एक घरपरिवार भने पहाडी जिल्ला गुल्मीमा आएर कृषि गरी उदाहरण प्रस्तुत गरेका छन् । कपिलवस्तुको सुद्धोधन गाउँपालिका ५ का मोहित कुमाल उमेरले ४० वर्ष पुगे । उनी श्रीमतीसँगै गुल्मीको इस्मा गाउँपालिका–६ धनार्जीमा खेतीपाती गर्दै आएका छन् ।

‘पहाडका बसाइसराइँ गरेर तराईमा झरिरहँदा खाली खेतबारीमा हामीले कृषि गर्ने सोचेर यहाँ आएका हौँ’, मोहितले भने,‘तराईमा भन्दा हामीलाई यहाँ नाफा छ, थोरै लगानीमा धेरै आम्दानी भइरहेको छ ।’ उनले कम लगानीबाट बढी फाइदा भएकाले आफू निकै सन्तुष्ट रहेकोसमेत बताए । मोहितले मौसम अनुसारका विभिन्न खेती गर्दै आएका छन् । अहिलेको मौसमअनुसार यतिबेला धान भित्र्याउने समय हो । मोहितलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ । उनले धनार्जी फाँटको १९ रोपनी जग्गामा गरेको खेतीबाट २५ मुरी धान उत्पादन गरेका छन् । एक मौसमको खेतीबाट मात्र मोहितले एक लाख कमाउने बताए । उनका अनुसार धान मुरीको चार हजार रुपैयाँका दरले विक्री हुने गर्दछ । यस मौसम बाहेक अन्य समयमा मोहितले गहुँ र तरकारीहरू रोप्ने गर्छन् । उनले स्थानीय ठाकुर भुसालको खेतमा कृषि गरिरहेका छन् । उनले बाह्रै महिना खेतबारी खाली नराखेर खेती गरी मनग्य आम्दानी गरेका छन् । तराईबाट झरेर पहाडमा कृषि गरेका मोहितले १८ जनालाई मौसमी रोजगार समेत दिएका छन् । धान खेतीको लागि रोप्दा, गोड्दा, काट्दा र ठट्याउँदा गरी औसतमा वार्षिक नौ जनाले रोजगार समेत पाएको उनले बताए ।

त्यस्तै धान खेतीबाहेकको अन्य खेतीमा पनि औसतमा नौ जनाले गरी कूल १८ जनाले रोजगार पाएका छन् । ‘मैले र परिवारले मात्र काम नसकेर यहाँका स्थानीयलाई रोजगार पाएका छन्,’ उनले भने । अठार वर्षसम्म बुटवलको एक पसलमा काम गरेका मोहितले काम गरुञ्जेल मात्र जीविकोपार्जन भएको बताउन्छन् । ‘मैले लामो समय पसलमा काम गरें, कमाएको पैसा कमाउञ्जेल मात्र भयो’, मोहितले भने, ‘पहाडमा झरेर कृषि गरेपछि केही बचत पनि गरेको छु ।’ उनले पहाडमा जग्गाजमिन बाँझोर राख्नुको सट्टा केही न केही कृषि उद्यम गरेका चौतफी फाइदा पुग्ने बताए । मोहित कुमाल मंसिरदेखि वैशाखसम्मको छ महिना इट्टा बनाउन ब्यस्त हुने गर्छन् । यो समय इट्टा पोल्न मिल्ने समय हो । बाँकी छ महिना इट्टा विक्री गर्ने समय हो । कुमालको पहलमा स्थानीयवासी ठाकुर भुसालको धनार्जी इँटा उद्योग पनि सोही स्थान धनार्जीमा रहेको छ । यहाँबाट एक नम्बरी इँटा प्रतिवटा १८ र २ नम्बरी इँटा प्रतिगोटा १७ रुपैयाँका दरले बिक्री हुन्छ । मोहितका अनुसार यो समयमा डेढ लाख इँटा बिक्री भए । कूल २६ लाख २५ हजार बराबरका इँटा बिक्री भएको इँटा उद्योगको रेखदेख गरेको मोहितले बताए । केही मात्रामा इँटा बिके पनि खासगरी उत्पादन अनुसार इट्टा विक्री नभएको मोहितले गुनासो गरे । इट्टा उद्योगमा अहिले तीन लाख इँटा बिक्री हुन सकेका छैनन् । यसको मूल्य ५२ लाख ५० हजार बराबर हुन्छ । ‘हामीसँग धेरै मात्रामा इँटा बिक्री नभएर यत्तिकै रहेका छन्,’ मोेहितले भने, ‘यहाँ इँटा उत्पादन हुन्छ, तर कमिशनका लागि तराईबाट इँटा आइरहेका छन् ।’ सरकारी निकायलाई कमिसनको लोभ र निजीहरुलाई गुणस्तरहीन हुन्छ कि भन्ने डरले इँटा बिक्री नभएको कुुमालले बताए ।

तराईबाट ल्याएरभन्दा यहीको माटोबाट बनेको इँटा प्रयोग गरेमा ग्रामीण भेगको उद्योगलाई पनि टेवा पुग्ने उनको अपेक्षा छ । धनार्जी इँटाको प्रयोग गर्न मोहितले आग्रह गरे । ‘निजीभन्दा पनि सरकारी कार्यालयले पहिले ग्रामीण भेगको इँटाको प्रयोग गरेमा निजीलाई विश्वास पुग्ने छ’, उनले भने । सहरको इँटाभन्दा गुणस्तरको तुलनामा केही कम नभएको उनको भनाइ छ । तराईबाट पहाड झरेर खेती गरेका मोहितले सबै नेपालीले कृषिमा ध्यान दिन जरुरी रहेको बताए । अन्य जागिरबाट आफ्नो जीविकोपार्जन काम गर्नसम्म मात्र हुने भएकाले कृषिले बचत पनि हुने उनको भनाइ छ । विलासी जीवन जीउनुको सट्टा नेपाली माटोमा केही न केही गर्न उनले सुझाएका छन् । संघीयतापछि गाउँगाउँमा आएको विकासका कारण पनि ग्रामीण भेगको बसाइँसराइ रोकिएको छैन । उनीहरुले नीति तथा कार्यक्रममा पनि बसाइँसराइ रोक्ने कुनै ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update