
घोराही (दाङ), राप्ती गाउँपालिका(७ सिसहनियाका रणप्रसाद सुवेदीले व्यावसायिक रूपमा केराखेती गरेको सात वर्ष भयो। ५४ बर्से सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। दुई बिघाबाट केरा खेती सुरु गरेका उनले अहिले भने ५४ बिघा क्षेत्रफलमा खेती गरेको बताए। केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।
बजारमा दर्जनलाई १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने २५ रूपैयाँ दर्जनमा दिंदा समेत नलगेको किसान सुवेदीले बताए। “यो साल केरा बिक्री नहुँदा कारोबार घटेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उनले भने। थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए । उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जान समेत मन नलाग्ने गरेको उनले बताए। उनले गएका वर्षहरूमा नियमित रूपमा ३५ स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिन समेत समस्या हुँदा १५ कामदार मात्र रहेको बताए ।
राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदीले अघिल्ला वर्षहरूमा सवा करोडसम्मको कारोबार गर्ने र जसबाट ३० लाख रूपैयाँसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा बेहोर्ने अवस्था सिर्जना भएको उनले बताए । राप्ती केरा प्रवर्द्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ केरा किसान आबद्ध छन्। यस वर्ष केरा बिक्रीमा समस्या हुँदा १० लाख कम आम्दानी हुने उनको आकलन छ। हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ। त्यसमा केरा अधिक बिक्री हुन्छ। चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवालीले बताए । उनले पनि व्यावसायिक रूपमा ५० कट्ठामा केरा खेती गर्दै आएका छन्। केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले बताए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ । उनी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताए। दुई बिघा जग्गामा गरेको केरा खेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताए ।
केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ। उनले भने, “व्यापारीले दर्जनको २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नुरु” खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौं रुपैयाँ डुब्ने जोखिम बढेको उनको भनाइ छ । मालभोग, हरिसाल, चिनी केरा लगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर २५० देखि ५०० रूपैयाँ एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ। स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ ।