बुटवल । प्रदेश पाँच सरकारले महत्वपूर्ण पाँच निर्णयहरु गरेको छ । बुटवलमा बसेको मन्त्रपरिषद् बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नगारिककोउद्धारदेखी कृषकलाई सहयोग गर्नेसम्मका निणर्यहरु सार्वजनिक गरेको हो । सीमाबाट उद्दार गरेर ल्याइएका नागरिकलाइ स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निणर्य मन्त्रिपरिषद बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, सरकारले लक डाउनका कारण प्रभावित भएका कृषकहरुका लागि विशेष सहजता प्रदान गर्ने भएको छ । खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत सामग्रीको बन्दोबस्त समेत सरकारले गर्ने जनाएको छ ।
त्यस्तै लकडाउनका बेला अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुका जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउन सक्ने निर्णय भएको छ भने गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतलाई उक्त जिम्मेवारी तोकिएको छ । उता, पशु र कृषिजन्य उपज बिक्री वितरणका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विशेष पहल सुरु गरेको छ । लक डाउनका कारण किसानहरुले उत्पादन गरेका माछा, मासु र दुध बिक्री वितरणमा समस्या भएको भन्दै यसका लागि मन्त्रालयले विशेष पहल सुरु गरेको हो । त्यसका लागि मन्त्रालयले कृषि संकलन स्थलसम्म ल्याउने साधनको व्यवस्थापन गरेको छ । यसअघि किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन बिक्री वितरणमा समस्या भएको गुनासो आएका थिए ।


