Shittalpati
वृद्धवृद्धालाई टोलमै उपचार

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिका ३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कदै गएपछि बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलमै आएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनी निःशुल्क औषधि दिएर घर फर्किए । उनले भने, ‘टोलमै आएर यसरी चेकजाँच कहिले भएको थिएन । जे होस् अहिले स्थानीय सरकारले हामीलाई पनि हेरेछ । हामी जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी खटाएछ । यो निकै खुसीको कुरा हो ।’

तानसेन ३ कै ७५ वर्षीया माया चौहानलाई पनि मुटुको समस्या देखिएको छ । बेलाबेला उनले पनि औषधिका लागि घरपरिवारका सदस्यसँग भन्नुपर्ने हुन्छ । तर अहिले भने स्वास्थ्यकर्मी टोलमै आएर चेकजाँच र औषधि दिएपछि उनी पनि खुसी भएकी छिन् । उनले भनिन्, ‘हामी बुढेसकालका मानिसका लागि पनि सरकारले सोंचे जस्तो लाग्यो । उमेरमै हामीले पनि समाजका लागि केही गरेका छौं । अहिले शरीरले साथ नदिँदा स्थानीय सरकारले स्वास्थ्यकर्मी घर टोलमै पठाएर सेवा दिँदा खुसी भएका छौं ।’ चौहानले पनि सुगर, प्रेसर, मुटुको चेकजाँच तथा ईसीजी गरी निःशुल्क औषधी पाएको बताइन् ।

‘स्थानीय सरकार भनेको घरदैलोको सरकार हो, सरकारले बाटो खन्ने भवन बनाउने काम मात्र नगरी मानव स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने खालका जनचेतनामुलक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नु हाम्रजस्ता दीर्घरोगी वृद्धहरुको लागि ठूलो सहयोग पुगेको छ’ बसन्तपुरका ७४ वर्षीय आनन्द बुढाप्रितिले भने । अहिले स्वास्थ्य बिमाका कारण आफुहरुले निकै दुःख पाएको उनले गुनासो समेत गरे । तानसेन ३ को वडा कार्यालयले दीर्घरागी र वृद्धवृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिदिन थालेपछि खुसी भएका यी केही प्रतिनिधिपात्र मात्रै हुन् । यहाँका ३ सय बढी वृद्धवृद्धाहरु टोलमै निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि उत्साहित भएका छन् । स्वास्थ्य शिविरमा वृद्ध–वृद्धा लोरोको सहारामा चेकजाँच गर्न पुगेका छन् । व्यवस्त जीवनशैली, अस्वस्थ्कर खाना, जंगफुडको बढ्दो प्रयोगका कारण समाजमा अहिले सुगर, प्रेसरका रोगीहरु अत्याधिक बढ्दै गएकाले उनीहरुलाई प्रत्यक्ष रुपमा मुटुमा असर गर्ने भएकाले वडा कार्यालयले मधुमेह, उच्चरक्ताचाप र मुटुरोगीलाई केन्द्रीत गरी शिविर सञ्चालन गरेको हो ।

४० वर्ष उमेर माथिका अधिकांश व्यक्तिहरुलाई सुगर, उच्चरक्तचाप रहेको, स्वास्थ्य बिमाको झन्झटिलो प्रक्रियाका कारण विरामीहरु रोग लुकाएर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, रोग लागेका विरामीहरुलाई औषधी उपचारका कारण दीर्घजिवी बनाउन, रोग नलागेका व्यक्तिहरुलाई समय–ससमयमा चेकजाँच गरी पूर्व सावधानी अपनाउनुपर्छ भन्ने आम वडावासीहरुलाई जनचेतना जगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिए ।

निर्वाचनको समयमा अधिकाश वृद्धवृद्धा दीर्घरोगीहरुले वडामा समय–समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको र आफ्नै घर टोलमा स्वास्थ्य शिविर सञ्चालन भएपछि अस्पताल जान नसकेका वृद्धवृद्धा, अपा, शारिरिक अशक्त भएका व्यक्तिहरुलाई टोल–टोलमा चेकजाँच र औषधी उपचारले विरामीको आयु बढाउन मद्दत मिलोस् भनि यो अभियाना चलाएको अध्यक्ष शाक्यले बताए । अभियानलाई हरेक महिनाको अन्तिम शुक्रबार दुई जना चिकित्सक राखेर चेकजाँच र औषधी वितरण गर्ने तयारीमा वडा कार्यालय रहेको अध्यक्ष शाक्यले बताए । शिविरमा लुम्बिनी मेडिकल कलेजका चिकित्सकले सेवा प्रदान गरेका थिए भने शिविरको व्यवस्थापनमा संगमपथ दिदीबहिनी समुहले सहयोग गरेका छन् । शिविरमा ३ सय वडावासीलाई स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update